युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवणकुमार रावलको निधन


काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ । मुटुमा समस्या देखिएपछि उनलाई भक्तपुरस्थित नागरिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहीबार बिहान निधन भएको हो ।

बुधबार सोल्टी होटलमा आयोजित अन्तर्राष्ट्रिय समावेशी बीमा कार्यक्रमपछि घर पुगेका रावलले असहज महसुस गरेपछि उनलाई तुरुन्त अस्पताल लगिएको थियो । बिहीबार बिहान उनी कहिल्यै नफर्किने गरी अस्ताए ।

उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । अष्ट्रेलियामा रहेका छोरा काठमाडौं आइसकेपछि अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

बीमा क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बोकेका रावलको निधनले नेपालले एक कुशल व्यवस्थापक गुमाएको छ । उनले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा सीईओको जिम्मेवारी सम्हालिसकेका थिए ।

आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरपछि उनलाई वरिष्ठ नायब प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो । गत वर्ष युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सको मर्जरपछि उनलाई मर्जर कमिटीले युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त सिफारिस गरेको थियो ।

प्रकाशित मिति: ८ कात्तिक २०८१, बिहीबार  १२ : ४६ बजे