हचुवाको भरमा उपयोग नभएको बिल देखाएर उद्योगको लाइन काटियोः मोरङ उद्योग व्यापार संघ


नेपाल विद्युत प्राधिकरणले विगतमा उद्योगहरुमा डेडिकेटेड फिडर र ट्रंकलाईन जडान गरेको तर सम्बन्धित उद्योगहरुलाई सोको उपयोग भएको यथेष्ट प्रमाण विनै उद्योगहरुको नाममा वक्यौता रकम देखाई विद्युत लाईन काटेकोप्रति मोरङ उद्योग व्पायार संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै संघले उद्योगहरुले उपयोग गरेको विद्युतको महशुल अनिवार्य रुपमा तिर्नु नै पर्ने संघको स्पष्ट मान्यता रहेकोमा विद्यमान विवादित विषयमा सम्बन्धित उद्योगहरु र प्राधिकरणबीच पटक पटकको बैठक बस्दा उद्योगहरुले विद्युत उपयोग गरेको यथेष्ट प्रमाण सहितको विल प्राप्त गरे बक्यौता रकम भुक्तानी गरिदिने प्रतिबद्धता जाहेर गरेको अवस्थामा हचुवाका भरमा लाइन काटिएको जनाएको हो ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग क्षेत्रमा बारम्बार विद्युत लाईन काट्ने जस्ता अस्वभाविक कामले उद्योगको संचालन क्षमतामा ह«ास आउनुका साथै उद्योगीहरु प्रताडित हुने एवं उद्योगको लगानी, सोमा आश्रित श्रमिकहरुको रोजगारी तथा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने संघको भनाई छ ।

सो विषयको सत्य तथ्य अध्ययन गरी समाधानका लागि नेपाल सरकारद्वारा जाँचबुझ आयोग ऐन अन्तरगत सर्वोच्च अदालतका पूर्व न्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित लाल आयोगले प्रस्तुत गरेको प्रतिवेदनको संघले स्मरण समेत गराएको छ । सो प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत गत बैशाख २७ गते निर्देशन दिई सकेकोमा सो प्रतिवेदन लागू गरी काटिएका उद्योगहरुका लाईन तत्कालै जडान गर्न संघले जोडदार माग गरेको छ ।
सम्बन्धित निकाय र सरोकारवालाहरु बीच बैठक बसी आवश्यक छलफल गरेर समाधानका उपाय निकाल्न सम्बन्धित सबै पक्षमा संघले आग्रह गरेको छ ।

 

प्रकाशित मिति: ११ कात्तिक २०८१, आइतबार  १७ : ४६ बजे