काठमाडौं–तराई मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरसँग सीमा क्षेत्र जोडिएको लतिलपुरको प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा समस्या समाधान भए थप गरिएको समयसीमाभित्र नै द्रुतमार्गको काम सम्पन्न हुने नेपाली सेनाले जनाएको छ। प्रवक्ता सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले विविध कारणले समस्या भएर समयसीमासभित्र सम्पन्न हुन नसकेको उक्त आयोजना अब भने थप समयमै सक्नेगरी काम भइरहेको बताए।
उनले हाल ११ नं प्याकेज नै मुख्य चुनौती र समस्याका रुपमा रहेको बताए। ‘हामीलाई काम अगाडि बढाउन खोकनाले समस्या भएको छ, समस्या समाधान नभएकाले ठेक्का र खरिद प्रक्रियामा जान सकिएको छैन’, प्रवक्ता केसीले भने, ‘हुन त समस्या समाधानका लागि मन्त्रीज्यूकै संयोजकत्वमा समिति बनेको छ, यद्यपि स्थानीयदेखि सबैले यसमा सहयोग गरेर हामीलाई काम गर्नसक्ने वातावरण बनाइदिन जरुरी रहेको छ।’
उनले रूख कटान र जग्गा अधिकरणसँग सम्बन्धित समस्या समाधान हुँदै गएको, प्रतिशतको आधारमा भौतिक र वित्तीय प्रगति थोरै देखिए पनि कामको स्थलगत प्रगति भने बढी रहेको उनको भनाइ छ। प्रवक्ता केसीले हालसम्म ३६ दशमलव ४२ प्रतिशत काम पूरा भएको र भुक्तानी समस्या समाधान तथा अन्य व्यवस्थापकीय काम भएमा एक वर्षभित्र सबै कार्यसम्पन्न गर्न सकिने बताए। उनका अनुसार प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना–बुङ्मतीमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापनको निर्णय बाँकी रहेकाले खरिद प्रक्रियासमेत हुनसकेको छैन।
यद्यपि काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८ दशमलब ५५ प्रतिशत रहेको जनाइएको छ। आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ।
दश दशमलव तीन सय नौ किलोमिटरको छवटा सुरुङमार्ग
आयोजनाअन्तर्गत छ वटा सुरुङमार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर रहेको छ। नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांकअनुसार सुरुङमार्गको प्याकेज नं १ अन्तर्गत महादेवटार सुरुङको दायाँ टनेलतर्फ तीन हजार ३५५ मिटर लम्बाइमध्ये दुई हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ। बायाँ टनेलतर्फ तीन हजार ३८६ मिटरमध्ये दुई हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सकिएको नेपाली सेनाले जनाएको छ।
यसैगरी, प्याकेज नं २ अन्तर्गत धेद्रे सुरुङमार्गको बायाँ टनेलको एक हजार छ सय ९१ मिटर लम्बाइमध्ये एक हजार छ सय ४२ अर्थात् ९५ प्रतिशत र निजगढबाट काठमाडौंतर्फ जाने दायाँ टनेलको एक हजार छ सय ५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको थियो।
प्याकेज नं ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेका लामो जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ रहेको एक हजार छ सय १२ मिटर लामो सुरुङ असारमा र काठमाडौंबाट निजगढतर्फ जाने एक हजार छ सय ३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको बताइएको छ।
प्याकेज नं ४ अन्तर्गत एक हजार मिटर लामो देवीचौर सुरुङ र प्याकेज नं ५ अन्तर्गतको तीन सय ९० मिटर लामो सिसौटार सुरुङ निर्माणका लागि खरिद सम्झौता सम्पन्न भई डिजाइनका क्रममा रहेको नेपाली सेनाले जनाएको छ। यस्तै, प्याकेज नं छ अन्तर्गतको दुई हजार दुई सय ५० मिटर लामो चन्द्रामभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको बताइएको छ।
आयोजनाअन्तर्गत ८९ वटा पुल
आयोजनाका ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको नेपाली सेनाका प्रवक्ता केसीले बताएका छन्। हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँचवटा पुलको निर्माण सम्पन्न भएको उनले जनाए। अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलको संरचना निर्माण भइरहेको केसीको भनाइ छ।
हाल निर्माणाधीन द्रुतमार्गको सब—बेस, बायो इन्जिनियरिङ, रोडका साइडामा पर्खाल लगाउने, सर्भिस रोड निर्माणलगायत कार्य जारीरहेको नेपाली सेनाले जनाएको छ। प्रस्थान विन्दु खोकना र अन्तिम विन्दु निजगढ रहेको आयोजनाको कुल लम्बाइ ७० दशमलव नौ सय ७७ किलोमिटर रहेको छ।
विसं २०७४ मा चार वर्षभित्र कार्यसम्पन्न गर्नेगरी तत्कालीन सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। तर सो समयमा काम पूरा नभइ २०८०र८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखियो, यो समयमा पनि कार्यसम्पन्न नहुने अवस्था आएपछि २०८३ सालसम्मको म्याद थपिएको जनाइएको छ।
सुरुआतमा रु एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि हाल लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको जनाइएको छ। चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ। द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौंसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ। नेपाली सेनाका प्रवक्ता केसीले अब तोकिएको समयमा कार्यसम्पन्न गर्न सबै पक्षबाट समन्वय र समस्या समाधानको पहल जरुरी रहेकामा जोड दिए। रासस
प्रतिक्रिया