रिकभरीले ह्वात्तै घट्यो बैंकहरुको बक्यौता, उठ्न बाँकी ब्याज नाफाको ९ प्रतिशतमा झर्यो


काठमाडौँ । कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बक्यौता रहँदै आएको बैंकहरूको ब्याज उठ्न थालेको छ ।

बैंकहरूले लगानी विस्तारभन्दा पनि असुलीलाई तीव्रता दिएसँगै उठ्न बाँकी रहेको ब्याज करिब ७ गुणाले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको उठ्न बाँकी ब्याज १ अर्ब ८८ करोड २९ लाख रुपैयाँ मात्र छ ।

यो रकम गत आवको सोही अवधिको तुलनामा ७ गुणले थोरै हो । गत आव २०८०÷०८१ को पहिलो त्रैमाससम्ममा बैंकहरूको उठ्न बाँकी ब्याज १३ अर्ब १ करोड ३५ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा २० अर्ब ७९ करोड रुपैयाँ छ । सो अवधिको बैंकहरूको उठ्न बाँकी १ अर्ब ८८ करोड ब्याज पनि यसमा समावेश छ ।

बैंकहरूको खुद नाफा उठ्न बाँकी रहेको ब्याज रकम ९ प्रतिशत मात्र हो । तर, गत आवको सोही अवधिमा बैंकहरूको उठ्न बाँकी ब्याज खुद नाफाको ७५ प्रतिशत थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको (उठ्न बाँकी ब्याज सहित) खुद नाफा १७ अर्ब १४ करोड रुपैयाँ थियो । सो अवधिमा बैंकहरूको उठ्न बाँकी ब्याज १३ अर्ब १ करोड २५ लाख रुपैयाँ थियो ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बैंकहरूको कर्जाको सावाँब्याज असुली जटिल अवस्थामा पुगेको थियो ।

कर्जाको सावाँब्याज उठ्न नसक्दा समग्र वित्तीय क्षेत्रको खराज कर्जाको अंश बढेको ५ प्रतिशतको हाराहारीमा पुग्यो । केही संस्थाको मात्र कुरा गर्दा सो सीमा पनि नाघेको अवस्था थियो ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकहरूमा नयाँ लगानीको मागमा पनि कमी आउन थाल्यो । त्यसपछि बैंकहरू पनि लगानी बढाउने भन्दा पनि समस्याको परेको कर्जा असुलीमा कठोर हुन थाले ।

त्यसका लागि बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मध्यदेखि धितो सकार्ने तथा राइट अफ गर्ने कामलाई समेत तीव्रता दिए । बैंकहरूले असुलीमा तीव्रता दिएको करिब १ वर्षपछि नतिजा देखिन थालेको हो ।

बैंकहरू असुलीमा केन्द्रित हुँदा बक्यौता ब्याज उठेसँगै नाफामा पनि सुधार आएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बैंकहरूको नाफा पनि २१ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकहरूको वितरणयोग्य नाफामा पनि उल्लेख्य सुधार आएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको वितरणयोग्य नाफा ३ अर्ब ४७ करोड रुपैयाँले नकारात्मक थियो । तर, चालु आवको पहिलो त्रैमासमा यस्तो नाफा १२ अर्ब ७८ करोड सकारात्मक भएको छ ।

बैंकहरूको वितरणयोग्य नाफा तथा खुद नाफा बढ्नुमा नेपाल राष्ट्र बैंकको खुकुलो नीतिले पनि हो । केन्द्रीय बैंकले असरल कर्जा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था खुकुलो खुद नाफा बढेको हो भने उठ्न बाँकी ब्याजबाट नियामकीय समायोजन गर्नुनपर्ने व्यवस्था गरेसँगै वितरणयोग्य नाफा बढेको हो ।

यसभन्दा अघि केन्द्रीय बैंकले उठ्न बाँकी ब्याजलाइ पनि आम्दानीमा देखाउन पाउने र सोबाट कर, कर्मचारी बोनस तथा नियामकीय समायोजनका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको थियो ।

यसरी छुट्याएको रकम रिटेन अर्निङबाट खर्चने व्यवस्था गरेको थियो । ब्याज प्राप्ति भएपछि रिटेन अर्निङमा राख्न मिल्ने व्यवस्था गरेको छ ।

पछिल्लो समयमा उक्त व्यवस्थालाई संशोधन गरी साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको रकम कट्टा गर्न पाउने व्यवस्था गरसँगै वितरणयोग्य नाफा बढेको हो ।

चालु आवको पहिलो त्रैमासमा नबिल बैंकको उठ्न बाँकी ब्याज सबैभन्दा धेरै छ । सो अवधिमा बैंकको उठ्न बाँकी ब्याज ४९ करोड ९४ लाख रुपैयाँ छ । यो अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १७ करोड ३२ लाख रुपैयाँ बक्यौता ब्याज उठाएको छ ।

सो अवधिमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकले पुरानो उठ्न बाँकी ब्याज उठाएका छन् भने बाँकी अन्य बैंकको अझै पनि बाँकी नै छ ।

गत आवको सोही अवधिमा माघापुच्छ«े बैंकबाहेक सबैको ब्याज उठ्न बाँकी थियो । गत वर्षको अवस्थामा चालु आवमा सुधार आएसँगै वित्तीय क्षेत्रमा देखिएको जोखिम पनि क्रमशः घट्दै गएको छ ।

प्रकाशित मिति: १२ कात्तिक २०८१, सोमबार  ११ : ३२ बजे