सिटिजन्स बैंकले पारित गर्यो लाभांश, १८औं वार्षिक साधारण सभा सम्पन्न


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभाले सेयरधनीलाई बितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा कात्तिक १२ गते सोमबार काठमाण्डौंमा सम्पन्न साधारण सभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०८०।८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँको बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद लाभांश सहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश पारित गरिएको बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको साधारण सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको एन।एफ।आर।एस वासलात, नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु पनि पारित भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अध्यक्ष पाण्डेले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास दिलाएका थिए । संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्च बनाउन बैंकले प्राथमिकताका साथ काम गरेको उनको भनाई थियो ।

बैंकले ६० जिल्लाका १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ वटा बिस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: १२ कात्तिक २०८१, सोमबार  १७ : ११ बजे