सुरु भयो तिहार, के हो धनतेरसको अर्थ र महत्व ?


काठमाडौँ । नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आज सुरु भएको छ । हिन्दुहरूको दोस्रो महान् चाड तिहारलाई ५ दिनसम्म मनाउने गरिएको छ ।
यमपञ्चकको पहिलो दिन धनतेरस हो । धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।

धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वन्तरी प्रकट भएका थिए । त्यसैले स्वास्थ्य, रक्षा र आरोग्यका लागि यो दिन धन्वन्तरी देवताको उपासना गर्ने गरिन्छ ।

धनत्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । धनतेरसका दिन नेपालको तराई क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

यो दिनलाई कुबेरको दिनका रूपमा पनि मानिन्छ । धन सम्पन्नताका लागि कुबेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान् धातुका साथमा नयाँ भाँडाकुँडा र गरगहना किन्ने गर्छन् । त्यही भाँडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन छ ।

धनतेरस पर्वसम्बन्धी कथा

पौराणिक गाथामा धन्वन्तरीको जन्म वृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्र मन्थनसँग सम्बद्ध देखापर्छ । समुद्र मन्थनका क्रममा धन्वन्तरीको उत्पत्ति भएको हो ।
उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरी’ पनि हो । उनलाई भगवान विष्णुको अवतार पनि मानिन्छ ।

त्यसबाहेक परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इंगित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उनलाई घरभित्र नपस्न र कसैलाई दुःखकष्ट नपु¥याउन अनुरोध र पूजा गरिन्छ । यस धार्मिक मान्यताले आममनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्छ । प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ । जसबमोजिम एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए ।

विवाह त भयो, तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् । विवाहको ठिक ४ दिनका दिन उनले आफ्न पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाडझैँ अग्लो चुली बनाइन् र आफू स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन् ।

रात्रिकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो । बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो ।

भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो । यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यसै घटना पछि मानिसहरूले आफ्नो घरका सद्स्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ । यस कर्मको प्रतीकात्मक अर्थ हो– पारिवारिक सुख र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । धनतेरस भनिने कार्त्तितक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ। हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ’धनतेरस’ पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफुलाई गाँसेको पनि देखिन्छ। यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् । सारांशमा आआफ्ना सामर्थ्य–अनुकूल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ ।

धनतेरसमा के किन्ने ?

नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरू किन्ने प्रचलन छ । धनतेरसको दिन किनिएको कुबेर यन्त्र तथा श्रीयन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ ।

साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ । यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास छ ।

धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ । यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ । यस्तै धनतेसरमा सवारी साधन पनि किन्न प्रचलन रहेको छ । यस दिन सवारी साधन किन्न शुभ मानिने गरिएको छ । यस दिन चाँदीको सिक्का पनि किन्ने चलन छ ।

प्रकाशित मिति: १३ कात्तिक २०८१, मंगलबार  १२ : ५४ बजे