हिमालयन क्यापिटलको लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न


काठमाडौं । हिमालयन क्यापिटलको गानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रमहरु सम्पन्न भएको छ । पुँजी बजारको दिगो विकासमा सदैव प्रतिबद्ध रहेको हिमालयन क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा कात्तिक ९ गते शुक्रबारका दिन लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।

आफ्नो स्थापनाकालदेखि नै पुँजी बजारको विकास गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको क्यापिटलले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ ।

क्यापिटलका प्रमुख संचालन अधिकृत राम प्रसाद भट्टराईले कार्यक्रममा सहभागीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पुँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति र सामूहिक लगानी कोष सम्बन्धि जानकारी गराएका थिए । साथै पुँजी बजारको निरन्तर विकासका लागि भावी पुस्तालाई पुँजी बजार र यसको प्रकृतिको बारेमा उनले जानकारी गराए । कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकाका स्थानीयहरू लाभान्वित हुने विश्वास रहेको उनको भनाइ छ ।

कार्यक्रममा सहभागीहरूले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यसप्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता विषयमा जानकारी प्राप्त गरेको बताएका छन् । साथै सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको बुझाइ छ ।

हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेशन अप सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।

प्रकाशित मिति: १४ कात्तिक २०८१, बुधबार  ०८ : २१ बजे