छठका लागि भारतबाट ५० लाखका केरा आयात


काठमाडौं । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् ।

आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाख रुपैयाँको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०–२५ लाख रुपैयाँसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाख रुपैयाँको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए ।

जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन्भने उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् । विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ ।

ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाख रुपैयाँको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् । जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ ।

बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।

प्रकाशित मिति: २१ कात्तिक २०८१, बुधबार  ०८ : २४ बजे