अमेरिकी राष्ट्रपति ट्रम्पको उदयपछि सुनको भाउ एकैदिन प्रतितोला ४ हजार रुपैयाँ घट्यो


बिहीबार सुनको भाउ एकैदिन प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । बुधबार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९६० रुपैयाँमा कायम भएको छ ।

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएका हो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च गिरावट हुँदा त्यको प्रभाव नेपालमा पनि देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २ हजार ७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २ हजार ६५७ सम्म झरेको थियो ।

अहिले भने अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६६०.११ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.१४ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ कात्तिक २०८१, बिहीबार  ११ : ४२ बजे