काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मा बाढीपहिरोबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका घरधुरीलाई सहयोग गरिएको छ ।
डा. ट्रुङ्गरम ग्याल्टुङ रिम्पोछेद्वारा स्थापित संस्थाहरू युनाइटेड ट्रुङ्गरम बौद्ध फाउण्डेसन र धर्मकाया सेन्टर फर रिसर्च एण्ड वेलबिइङले पूर्ण रुपमा घर क्षतिग्रस्त भएका चार घरपरिवारलाई जस्तापाता सहयोग गरेका हुन् । बुधबार महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन र वडाध्यक्ष जयकृष्ण बोगटेको उपस्थितिमा सहयोग हस्तान्तर गरिएको हो ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका घरधुरीहरूलाई बासस्थान पुनर्निर्माणका लागि सहयोग गरिएको संस्थाले जनाएको छ । युनाइटेड ट्रुङ्गरम बौद्ध फाउण्डेसन अहिंसा, सामाजिक न्याय र आपसी समझदारीको सिद्धान्त प्रबर्द्धन गर्ने गैरनाफामुलक संस्था हो भने धर्मकाया सेन्टर फर रिसर्च एण्ड वेलबिइङले बौद्धधर्मका शिक्षा र अभ्यासहरूमा केन्द्रित अनुसन्धान गर्दछ ।
गत असोज तेस्रो साताको बाढीपहिरोमा काठमाडौं उपत्यकासहित मुलुकभर ठूलो धनजनको क्षति भएको थियो ।
प्रतिक्रिया