नेपाली आईटी कम्पनी इन्फो डिभेलपर्स जापानमा सम्मानित


काठमाडौँ । नेपालको सूचना प्रविधि कम्पनी इन्फोडिभेलपर्स प्रालिले जापानमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । एसियन-आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएशन (एसोसियो)को आयोजनामा जापानमा भएको डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा इन्फोडिभेलपर्स ले ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ जितेको हो ।

इन्फोडेभलपर्सका संस्थापक तथा मार्केटिङ, इन्नोभेसन तथा स्टार्टेजी निर्देशक उमेश रघुवंशीले अवार्ड ग्रहण गरेका थिए । नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा इन्फोडिभेलपर्सले योगदान पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरिएको विज्ञप्तीमा उल्लेख छ । एसोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधिका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । सम्मेलनमा एशिया (प्यासिफिक क्षेत्रका डिजिटल प्रविधि उद्योगका प्रतिनिधि, नवप्रवर्तक र विज्ञहरूको सहभागीता थियो ।

इन्फोडिभेलपर्सले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी निकायहरूलाई फिनटेक एवं आईसीटीसम्बन्धी सेवा दिने गरेको छ । कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, एआईमा आधारित स्वचालित उपकरणसँगै ग्राहक सेवा र निकायहरूको कार्यक्षमता सुधार गर्न सफ्टवेयरमा आधारित समाधानहरू कम्पनीले प्रदान गर्दै आएको जनाएको छ । इन्फोडेभलपर्समा २ सयभन्दा धेरै सूचना प्रविधिका जनशक्ति कार्यरत छन् ।

प्रकाशित मिति: २५ कात्तिक २०८१, आइतबार  ०९ : ४३ बजे