चाडपर्व सकिएपछिको पहिलो दिन सेयर बजारमा तिब्र उछाल


चाड पर्व सकिएपछिको पहिलो दिन सेयर बजारमा तिब्र सुधार देखिएको छ । बजार खुलेदेखि नै क्रमिक रुपमा उकालो लाग्दा ६२.५४ अंकको सुधार आएको छ । यो सुधारसँगै बजार परिसुचक नेप्से २७३८.०६ अंकमा उक्लिएको छ ।

तिहार र छठ पछि पहिलो पटक खुलेको बजारमा ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २२१ कित्ता सेयरहरु १ लाख ६५१ पटक किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको कारोबार भएको छ । बजार उकालो लाग्दा २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी कम्पनी तथा सामुहिक लगानी कोषहरुको मूल्य स्थिर तथा घटेका छन् ।

दशैं तिहार अघि तिब्र गतिमा ओरालो लागेको बजार आगामी दिनमा कुन बाटोमा जाला भन्ने चासो आम लगानीकर्तामा कायमै छ । आइतबारको बजार वृद्धिले लगानीकर्तामा आशा जगाए पनि अझै पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु आफुसँग भएको सेयर बेच्ने कि थप लगानी गर्ने भन्ने अन्यौलतामा छन् ।

गुराँस लघुवित्त, श्रृजनशील लघुवित्त, सुपर मादी हाइड्रो, बलेफी हाइड्रो, नारायणी डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स लगायतका ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा ४० कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सानिमा ग्रोथ फण्ड, समाज लघुवित्त, मिथिला लघुवित्त लगायत कम्पनीको सेयर मूल्य धेरै घटेको बजारमा सानिमा जिआईसीको सबैभन्दा धेरै अर्थात ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा आएको सुधारसँगै समग्र बजार पूँजीकरण बढेर ४३ खर्ब ५८ अर्ब ८६ करोड ६५ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

तिब्र गतिको उतारचढावले लगानीकर्ता बजारबाट बाहिर निस्किन तयार हुने तर फेरी लगानी गर्नबाट हच्किने सामान्य उतार चढावले बजार स्थायी हुने देखिन्छ । यसले आम लगानीकर्ताको मनोबलमा पनि सकरात्मक असर पार्न सकेको खण्डमा लगानीकर्ता बजारमा आउने क्रम बढ्न सक्छ ।

प्रकाशित मिति: २५ कात्तिक २०८१, आइतबार  १६ : ३९ बजे