पटक-पटक मन्त्री बनेका दीपक मनाङे पक्राउ


काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन् । सिआइबीको टोलीले उनलाई काठमाडाैँकाे सानोभर्‍याङबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार उनलाई आजै काठमाडाैँ जिल्ला अदालतमा उपस्थित गराएर फेसला कार्यान्वयनका लागि कारागार चलान गरिनेछ ।

सर्वोच्च अदालतले २० कात्तिकमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैद हुने फैसला सुनाएकाे थियाे  ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले  मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेकाे हाे ।

२०७४ सालकाे प्रदेशसभा निर्वाचनमा सांसद निर्वाचित भएका उनी उच्च अदालतकाे फैसला कार्यन्वयनका लागि २०७५ वैशाख ६ गते पक्राउ परेका थिए । तर ८ महिनामै छुटेका थिए । कैदमुक्त भएपछि उनी पटक पटक मन्त्रीसमेत बने । २०७९ काे चुनावमा पनि विजयी बनेका उनी २ कार्यकालमा गरी ६ पटक मन्त्री बनेका थिए ।

०६१ सालमा चक्रे मिलनलाई मनाङे समूहले तरबार प्रहार गरेर हात काटिदिएको थियो । पछि उनको हात जोडिए पनि उक्त घटनालाई लिएर चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने उद्योग (प्रयास) मा जाहेरी दिएकी थिइन् ।

ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भए पनि जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनायो । र, उनका सहयोगीहरू गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

तर, जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारवादी उक्त मुद्दा तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको थियो । पुनरावेदनले जिल्ला अदालतको फैसला केही उल्ट्याउँदै ज्यान मार्ने उद्योगअन्तर्गत मनाङेलाई थप ३ वर्ष जेल सजाय थपेर ५ वर्षको जेल सजाय तोकेको थियो ।

तर, गणेश लामालगायतले भने पुनरावेदनबाट पनि सफाइ पाए । मनाङेको हकमा फैसला चित्तबुझ्दो भए पनि अरूले सफाइ पाएपछि यो मुद्दा सर्वोच्च पुगेको थियो । सरकारी वकिलको कार्यालय मनाङे बाहेकका ४ जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । सो मुद्दामा न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।

०७४ को निर्वाचनपछि अहिलेसम्म मनाङे गण्डकी प्रदेश सरकारमा ६ पटक मन्त्री बनिसकेका छन् । उनी प्रदेशसभाको पहिलो कार्यकालमा ३ पटक युवा तथा खेलकुदमन्त्री र दोस्रो कार्यकालमा ३ पटक नै भौतिक पूर्वाधारमन्त्री बने । २०७४ सालदेखि हालसम्म गण्डकी प्रदेशमा ४ जना मुख्यमन्त्री बने भने ती सबै मुख्यमन्त्रीको क्याबिनेटमा मनाङेले अवसर पाए ।

प्रदेशसभाको पहिलो कार्यकालमा पृथ्वीसुब्बा गुरुङ र कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने । त्यसबेला दुवै जनाको कार्यकालमा मनाङे युवा तथा खेलकुदमन्त्री थिए । तत्कालीन नेकपा फुटेपछि सरकार जोगाउनका लागि मनाङेलाई मन्त्री बनाइएको थियो । तर, सरकार टिकेन र गुरुङले राजीनामा दिएर ठुलो दलको हैसियतमा सत्ता हात पारे । त्यसबेला पनि मनाङे खेलकुदमन्त्री बन्न पाए ।

पछि एमाले सरकार ढल्यो र कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन भयो । त्यसबेला पनि मनाङेले कांग्रेस सरकारलाई सघाएबापत मन्त्री पद उपहार पाए र तेस्रो पटक प्रदेशको युवा तथा खेलकुदमन्त्री बन्ने अवसर पाए ।

२०७९ सालको निर्वाचनपछि बदलिएको राजनीतिक अवस्थामा मनाङेले पटक–पटक अवसर पाए । २०७९ को चुनावपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार हुँदा उनी बाहिरै बसे । त्यसबेला पुस २४ गते मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । यसबीचमा एमालेका खगराज अधिकारी र कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बने । यसबीच नेकपा एस हुँदै स्वतन्त्र हैसियतमा बसे पनि पटक–पटक मन्त्री बन्न पाए । सबैको सरकार जोगाइदिने हतियारका रूपमा आफूलाई प्रस्तुत गरेका मनाङे यस अवधिमा ३ पटक भौतिक पूर्वाधार मन्त्री बने ।

गत भदौमा गण्डकी प्रदेश सरकारमा नेकपा एमाले पनि सहभागी भएपछि उनलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट वन मन्त्रालयमा सारिएको थियो । तर, आफ्नो मन्त्रालय अरूलाई दिएर आफ्नो भागमा सामान्य मन्त्रालय पारिदिएको भन्दै मनाङेले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: २७ कात्तिक २०८१, मंगलबार  १२ : ५० बजे