मंसिर १२ गते भित्र बक्यौता नतिरे फेरी लाइन काटिने प्राधिकरणको चेतावनी


नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट र ट्रकलाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरुलाई १५ दिनको म्याद दिएको छ । बिहीबार सूचना जारी गर्दै प्राधिकरणले मंसिर १२ गते भित्र बक्यौता तिर्न ताकेता गरेको हो।

प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिन भित्र असुलउपर गर्ने निर्णय भएको बताएको छ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएका छ, “उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन हुन अनुरोध गरिएको छ । ”

यसअघि डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो। तर कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो।

प्राधिकरणले मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी दिएको छ।

 

प्रकाशित मिति: २९ कात्तिक २०८१, बिहीबार  १० : ४० बजे