काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको हवाई भाडा बढ्दा त्यसको लाभ भारतलाई हुने भएको छ । नेपालको भन्दा भारतको भाडादर सस्तो हुँदा नेपाल आउने पर्यटकले पनि भारतको बाटो रोज्ने देखिएको छ भने नेपालबाट अन्य मुलुक जाने नागरिक पनि भारत हुँदै जाने विकल्प अपनाउन थालेका छन् ।
काठमाडौँबाट दुबई उडानको इकोनोमी क्लासको टिकट करिब १ लाख रुपैयाँ पुगेको छ । सबैभन्दा कम मूल्य नै ९३ हजार रुपैयाँ छ । तर, भारतको दिल्लीबाट ३४ हजार ६०० भारु मात्रै छ । जसको नेपाली मूल्य ५५ हजार ३६० रुपैयाँ पर्न आउँछ ।
यस्तोमा नेपालबाट सीधै दुबई जानेभन्दा नेपालबाट भारतको बाटो हुँदै जाने र आउनेको संख्या बढ्ने देखिएको छ । जसले गर्दा नेपालको होटल, यातायात, गाइड तथा स्थानीय व्यवसायमा नकारात्मक प्रभाव पर्ने पक्का छ भने भारतको व्यवसाय फस्टाउने देखिएको छ ।
यस्तै, त्रिभुवन विमानस्थलबाट मलेसियाको टिकट मूल्य ७३ हजार रुपैयाँ छ । दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट १६ हजार २०० भारतीय रुपैयाँ मात्रै छ । काठमाडौँबाट रियादको भाडा ८१ हजार छ । दिल्लीबाट रियादकै ४१ हजार रुपैयाँ छ ।
काठमाडौँबाट दोहा जान कतार लागि एयरवेजको भाडा ६२ हजार छ । तर, दिल्लीबाट दोहासम्म २१ हजार ७०१ भारु अर्थात् ३४ हजार ७४८ रुपैयाँमा टिकट पाइन्छ ।
काठमाडौँबाट टर्कीको इस्तानबुलको भाडा १ लाख रुपैयाँ छ । दिल्लीबाट इन्डिगो एयरलाइन्सले ३२ हजार ५०० भारतीय रुपैयाँ भाडा तोकेको छ । काठमाडौँबाट बैंककको भाडा ५ हजार छ भने दिल्लीबाट १ हजार भारतीय रुपैयाँमै बैंकक उडान भरहेको छ । काठमाडौँबाट लन्डनको भाडा ९० हजार छ । तर, दिल्लीबाट ३९ हजार भारुमै टिकट पाइरहेको छ ।
पर्यटकको आगमन घट्दा देशको अर्थतन्त्रमा संकुचन आउनुका साथै ग्रामीण क्षेत्रमा रोजगारीको अवसरमा पनि कमी आउँछ । साथै आर्थिक दृष्टिकोणले हवाई भाडा वृद्धि हुँदा नेपालको विदेशी मुद्रा भण्डारमा समेत असर पर्ने जानकारहरू बताउँछन् ।
यता, हवाई भाडा वृद्धि हुँदा छोटो समयका लागि घर फर्किने नेपालीको संख्यामा कमी हुन सक्छ, जसले नेपाली समाज र संस्कृतिमा प्रत्यक्ष असर पु¥याउनुका साथै देशभित्रको आन्तरिक पर्यटनमा मात्र निर्भर रहनुपर्ने स्थिति आउन सक्ने उनीहरू बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) १० घन्टा बन्द भएको बहानामा हवाई भाडामा चर्को वृद्धि गरिएको हो । यो विमानस्थल गत कात्तिक २३ गतेदेखि करिब ५ महिनाका लागि दैनिक १० घन्टा बन्द गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि दैनिक १० घन्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।
स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती भएका छन् । पहिले विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भए पनि भैरहवा र पोखरा विमानस्थलबाट उडान गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । अहिले नेपालबाट दुबई जानेहरू १ लाख रुपैयाँ तिरेर पनि जान बाध्न भएको बताउँदै उनले सरकार यो विषयमा गम्भीर भएर लाग्नुपर्ने बताए । आफूहरूले अन्य विमानस्थललाई चाँडोभन्दा चाँडो सञ्चालन गर्न आग्रह गरेको बताउँदै उनले भने, ‘अहिले नेपालको भन्दा भारतको टिकट मूल्य सस्तो छ । यो हाम्रा लागि राम्रो होइन । पर्यटक उता डाइभर्ट हुँदा हामीलाई यसले प्रत्यक्ष असर गरिरहेको छ ।’
यस्तै, सरकारले अनावश्यक रूपमा यात्रुलाई दुःख दिने काम गरेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय सचिवालयका उपाध्यक्ष सुमन पाण्डे बताउँछन् ।
पर्यटकीय सिजनमा सरकारले धावनमार्ग विस्तार गर्नु उपयुक्त समय नभएको र यसले पर्यटकको आगावन स्वतः घट्ने उनको भनाइ छ । यस्तै, नेपाल आउने पर्यटक भारतको बाटो हुँदै आउन बाध्य भएको भन्दै उनले जतिसक्दो धेरै पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा प्रयोगमा ल्याउनुपर्ने बताए ।
२०७५ मा दैनिक १० घन्टा विमानस्थल बन्द गरेर झन्डै ४ महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।
२०७७ सालमा सो विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३०० मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घन्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टू) विस्तार भएको थियो ।
प्रतिक्रिया