हिमाल हेर्न जाने होइन त कोखेडाँडा ?


पर्वत । मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् ।

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ ।

म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायतका जिल्ला अवलोकन गर्न सकिन्छ ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेका छन्। उनले यहाँ आउने पर्यटकको सुविधाका लागि नेपाल टेलिकम वा एनसेलको टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्गहरूको अभाव रहेको बताए ।

उनको कटेजमा नेपालीहरूलाई एक रात बास बसेको रु एक हजार पाँच सय निर्धारण गरेका छन् । कोखेडाँडामा विभिन्न ३० देशका झण्डा राखिएको छ । कोखेडाँडा पुग्नका लागि तीनवटा मार्ग छन् ।

कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी हुँदै पैदल हिँडेर कोखेडाँडा पुग्न सकिन्छ । यो मार्गबाट चारदेखि पाँच घण्टा पैदलयात्रा गर्नुपर्दछ ।

प्रकाशित मिति: ३० कात्तिक २०८१, शुक्रबार  ०६ : २५ बजे