नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आउन थालेको छ । १५ कात्तिकमा इतिहासकै उच्च विन्दुमा पुगेको सुनको मूल्य त्यसयता लगातार ओरालो लाग्न लागेको हो ।
छापावाला सुनको मूल्य १५ कात्तिकमा प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्यमा गिरावट आउन थालेको हो । आज आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घटेको थियो । राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि अहिलेसम्म ८ हजार ४०० रुपैयाँले घटिसकेको छ ।
अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सुनको मूल्यमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको उनको भनाइ छ । ‘अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका कारण सुनको मूल्यमा गिरावट आएको हो । ट्रम्पले चुनावी अभियानमा गरेको भाषण गरेका थिए । त्यही कारणले अहिले सुनको मूल्यमा उच्च गिरावट आएको हो,’उनले भने ।
ट्रम्पले राष्ट्रपतिको पद सम्हालेपछि सुनको मूल्य घट्ने वा बढ्ने भन्नेबारे आकलन गर्न सकिने उनको तर्क छ । ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्न कम्तीमा ७४ दिन कुर्नुपर्ने हुन्छ । उनको सपथग्रहण समारोह २० जनवरीभन्दा पहिले हुने छैन । त्यतिन्जेलसम्म जो बाइडेन नै ह्वाइट हाउसमै रहनेछन् ।
ट्रमले राष्ट्रपतिको शपथ लिन अझै लामो समय भएकाले अहिले नै सुनको मूल्यमा आकलन गर्न नसकिने उपाध्यक्ष बज्राचार्यको तर्क छ । ‘ट्रम्पले अहिले युद्ध रोक्छु, डलरलाई रिजर्भको रुपमा विकास गर्ने लगायतका हल्लाकै कारणले सुनको मूल्यमा गिरावट आएको हो । अब के हुन्छ भनेर २० जनवरीपछि मात्रै थाहा हुन्छ,’ उनले भने ।
ट्रम्प निर्वाचित हुनेबित्तिकै सुनको मूल्य घट्नुमा उनले लिएको ‘अमेरिका पहिलो’ नीतिको मनोविज्ञान कारण पनि रहेको बज्राचार्यको बुझाइ छ । यस्तै, अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, विश्वका केन्द्रीय बैंकले विगतमा उच्च दरले खरिद बढाउनु, भूराजनीतिक द्वन्द्व लगायत गतिविधिका कारण पनि सुनको मूल्य घटबढ हुने गरेको छ ।
अमेरिकाको आन्तरिक अर्थतन्त्र कमजोर हुँदै जाँदा बढेको सुनको भाउ ट्रम्पको आर्थिक गतिविधि बढाउने घोषणाले लगानीकर्ता लगानीकर्ता अन्य क्षेत्रतिर आकर्षित हुँदा भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । तर, ट्रम्पले आगामी दिनमा लिने नीतिले यो अवस्था दीर्घकालीनरूपमा जान्छ कि जाँदैन भन्ने निर्धारण हुने उनको भनाइ छ ।
सुनको भाउले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५ सय अमेरिकी डलरसम्म पुग्ने उनको आँकलन छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २८ सय ०३ अमेरिकी डलरसम्म पुगेको थियो, तर अब २५ सय डलरसम्म पुग्ने अनुमान गरिएको छ,उनले भने,“ यस्तो भयो भने नेपाली बजारमा सुनको भाउ १ लाख ५५ हजारसम्म आइपुग्छ ।”
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान सवा १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर सुनको मूल्य तय गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५६२.८६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.२५ डलरमा कारोबार भइरहेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५६८.८७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.५१ डलरमा कारोबार भएको थियो ।
प्रतिक्रिया