साइबर ठगीमा टिनएजर विद्यार्थीको सहभागीता उच्च 


साइबर प्रविधिमा आधारित ठगीमा २५ वर्ष भन्दा मुनीका युवा विद्यार्थीको सहभागिता उच्च देखिएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले तयार गरेको रणनीतिक विश्लेषण प्रतिवेदन २०२४ अनुसार साइबर ठगीमा संलग्न मध्ये आधा भन्दा धेरै युवा विद्यार्थी देखिएको हो ।

इकाइले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०९१० को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत आइतबार सरकारलाई बुझाएको हो । प्रतिवेदनमा साइबर ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ ।

प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर ठगी सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ । प्रतिवेदन अनुसार शङ्कास्पद कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसाले विद्यार्थी’ रहेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ । यसै गरी, अधिकांश शङ्कास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको प्रतिवेदन उल्लेख छ ।

साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट/पार्सल ठगी, फेक अनलाइन बिजनेस, एटिपी, लटरी समाजिक सञ्जाल इम्पर्सोनेसन लगायतका तरिकाको प्रयोग भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ । प्रतिवेदन  अनुसार यस्ता गतिविधि नियन्त्रणका लागि प्रभावकारी ग्राहक पहिचान विवरण, बहु प्रमाणिकरणको व्यवस्था गरिनुका साथै तत्काल ट्रयाक गर्न सकिने प्लेटफर्मको विकास गरेर अधि बढ्नु पर्ने सुझाएको छ ।

प्रतिवेदन अनुसार यसरी ठगी गिरिएको रक पैसा सङ्कलन गर्नका एक देश वा स्थानको बैंक खाता प्रयोग गरिएको छ भने अर्को देशमा बसेर अनलाइन वा एटिएम मार्फत उक्त रकम झिक्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसका साथै विभिन्न धेरै मोबाइल नम्बरहरुमा वलेटमा टप अप गर्ने गरेको  प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार सान २०२४ को पहिलो ५ महिनामा इकाइमा एक हजार ५ सय ६९ वटा  साइबर ठगी भएका छन । त्यसमध्ये वाणिज्य बैंकबाट एक हजार २ सय ६१, विकास बैंकबाट २ सय १७, रेमिट कम्पनीबाट ४७, भुक्तानी सेवा प्रदायकबाट १७ फाइनान्स कम्पनीहरूबाट १७ र अन्य बाट ९ शङ्कास्पद क्रियाकलाप र कारोबार सम्बन्धी उजुरी परेको प्रतिवेदनमा उल्लेख छ ।

ती उजुरीहरूलाई विश्लेषण गरेर इकाइले सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाएको जनाएको छ । ती उजुरी मध्ये इकाइले २ सय १२ वटालाई नेपाल प्रहरी, ३५ वटा केन्द्रीय अनुसन्धान ब्युरो, १८ राजस्व अनुसन्धान विभाग, १० वटा सम्पत्ति शुद्धिकरण निवारण विभाग र ५ वटालाई नेपाल राष्ट्र बैंकका पठाएको प्रतिवेदन उल्लेख छ ।

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार  १६ : ५५ बजे