काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो चौमासिकमा १७ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार गत साउनदेखि कात्तिकसम्ममा कुल १७ अर्ब ३ करोड ७७ लाख रुपैयाँ बढी वैदेशिक लगानी स्वीकृत भएको हो ।
यो अघिल्लो आव २०८०\८१ को सोही अवधिको तुलनामा सवा १ अर्ब ३२ करोड रुपैयाँ कम हो । गत आवमा १८ अर्ब ३५ करोड रुपैयाँ बराबर एफडीआई आएको थियो ।
कात्तिक मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी जोड्दा अहिलेसम्म ५ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष चार महिनामा १ सय ७८ उद्योग दर्ता भएका थिए । यस वर्ष १ सय ५४ उद्योग दर्ता भएका छन् ।
कात्तिकसम्म दर्ता हुन आएका उद्योगमध्ये पर्यटनमा मात्र १ सय १३.७२ प्रतिशत उद्योग दर्ता भएको छ । जुन ७२ प्रतिशत हिस्सा हो । सेवामा २०, उत्पादन १३, सूचना–प्रविधि ७, खानी २ र कृषिमा २ प्रतिशत उद्योग दर्ता भएका छन् ।
दुई वटा उत्पादनमूलक उद्योगको लागि सात करोड ५० लाख रूपैयाँ, नौ वटा पर्यटनमूलक उद्योगको लागि ३२ करोड रूपैयाँ, पाँचवटा सेवामूलक उद्योगको लागि २८ करोड रूपैयाँ, दुई वटा सूचनामूलक उद्योगको लागि चार करोड रूपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ।
यस वर्ष अटोमेटिक रुटबाट (स्वचालित) १ सय ९ कम्पनी दर्ता भएको छ । जसमार्फत १ अर्ब ६२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ । मध्यमस्तरीय एक र दुई ठूला उद्योगमात्र दर्ता भएको देखिन्छ ।
यस वर्ष १ हजार २० लगानीकर्ताले ‘बिजनेस भिसा’ लिएका छन् । प्रतिनिधिका रूपमा २ सय ५ र ३ सय ३२ जनाले ‘डिपेन्डेन्ट’ रूपमा भिसा लिएको समेत विभागको तथ्यांकमा छ ।
प्रतिक्रिया