विदेशबाट आउँदा ल्याउन पाउने सुनका गहनाको सीमा घट्यो


सरकारले विदेशबाट आउँदा यात्रुले साथमा ल्याउन पाउने सुनका गरगहनाको सीमा घटाएको छ । २ सय ग्रामसम्मका गरगहना ल्याउन पाउने व्यवस्थालाई संशोधन गर्दै सरकारले सय ग्राम तोकेको हो । 

तर, सरकारले भन्सार महसुल पूर्ण छुट दिएर ल्याउन पाउने सुनको सीमामा भने कुनै परिवर्तन गरेको छैन । पूर्ण छुट पाउने भन्दा धेरै सुनका गरगहना ल्याउनेको हकमा सीमा आधाले घटाएको हो । सरकारले विदेशबाट आउनेलाई सुनको गहना ल्याँउदा पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म भन्सार छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरियाको भन्सार पूर्ण रुपमा छुट दिने व्यवस्था गरेको छ । तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता वस्तु गहनाको रुपमा ल्याउन पाइने छैन ।

विदेशबाट आउँदा भन्सार शुल्क पुर्ण छुट बाहेकको थप सुनका गरगहना ल्याउन पाइन्छ । यसरी ल्याएका गरगहनाको शुल्क भने तिर्नु पर्ने हुन्छ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा महसुल दिई जाँचपास गर्न सकिने र सोभन्दा बढी परिमाणमा सुन ल्याएमा बढी ल्याएको परिमाण जफत गरिने व्यवस्था गरेको छ । 

पहिलो पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल र पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत शुल्क तिर्नु पर्छ । विदेशबाट फर्केका यात्रुले पूर्ण भन्सार छुट पाउने सीमा भन्दा धेरै परिमाणमा पचास ग्रामसम्म गहना ल्याएमा सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुल र सो परिमाण भन्दा बढी थप पचास ग्रामसम्म गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत महसुल लिई जाँचपास गर्न सकिने व्यवस्था गरको छ । यसभन्दा अघि सरकारले यस्तो सीमा सय ग्राम र थप सय ग्रामको सीमा कायम गरेको थियो ।

सरकारले यो वर्ष पनि भन्सार शुल्क पुर्ण छुट हुने सुनका गरगहनाको सीमा विगतकै लाई निरन्तरता दिएको छ । तर, विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको दुइ सय ग्रामसम्मको सुनमा महसुल तिरी जाँचपास गर्न सक्ने व्यवस्था गरेको थियो । पहिलो एक सय ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल लाग्ने व्यवसथा थियो भने एक सय ग्रामको ग्रामभन्दा बढी थप एक सय ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत ।

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार  १८ : ०२ बजे