चालु आर्थिक वर्षको असोज महिनामा मात्रै एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । असोज महिनामा वैदेशिक रोजगारका लागि पुन श्रम स्वीकृति लिनेको सङ्ख्या बढेकाले पनि रेमिट्यान्स धेरै आएको हो ।
चालु आर्थिक वर्षको असोजसम्ममा कुल ४ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले धेरै हो । गत आवको तेस्रो महिना अर्थात असोजमा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । साथै गत आवको असोज महिनामा मात्रै एक खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको थियो ।
हिन्दु धर्मावलम्बीको महान चाड विजय दशमी तथा दिपावली पनि असोज कात्तिक महिनामा पर्ने भएको विदेशमा रहेका आफन्तले स्वदेश पैसा पठाउने गर्छन । त्यसले गर्दा पनि असोज र कात्तिक महिनामा तुलनात्मक रुपमा रेमिट्यान्स धेरै आउने गर्छ ।
तर, गत आवको असोजमा भित्रिएको रेमिट्यान्स वृद्धिदर भने चालु आवमा घटेको छ । गत आवको असोजसम्ममा रेमिट्यान्स आप्रबाह २५.८ प्रतिशतले बढेको थियो । चालु आवको सो अवधिमा समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले मात्रै बढेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत आवमा यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । चालु आवको असोजसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । गत आवको सो अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो ।
चालु आवको पहिलो त्रैमासमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो ।
प्रतिक्रिया