त्रिभुवन विमानस्थलस्थित हवाई इन्धन डिपो स्थानान्तरणका लागि डिपिआर सम्झौता


काठमाडौँ । त्रिभुवन विमानस्थलस्थित नेपाल आयल निगम लिमिटेडको हवाई इन्धन डिपो स्थानान्तरणका लागि इन्जिनियरिङ अध्ययन संस्थान, कन्सल्टेन्सी सेवा पुल्चोकसँग विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्न सम्झौता भएको छ।

निगमको हवाई इन्धन कार्यालय, सिनामंगल र पुल्चोक इन्जिनियरिङ कलेजको कन्सल्टेन्सी सेवा विभागबिच एक करोड ९८ लाख ८४ हजार १८३ रुपैयाँ ७३ पैसामा डिपिआर निर्माण गर्ने सम्झौता भएको हो। निगमको सिनामंगल डिपो प्रमुख इन्जिनियर प्रदीप यादवका अनुसार बढीमा ६ महिनाभित्र डिपिआर तयार हुनेछ। ‘चालू आर्थिक वर्ष ०८१र८२ भित्रै निर्माण सुरु गर्न टेन्डर आह्वान गर्ने गरी डिपिआर भइसक्नेछ,’ उनले भने।

त्रिभुवन विमानस्थलको दक्षिण–पश्चिमतर्फ रहेको हालको डिपो साँघुरो हुनुका साथै विमानस्थल विस्तार गुरुयोजना भित्रसमेत परेकाले स्थानान्तरण गर्न लागिएको हो। विमानस्थल विस्तार गुरुयोजनामा हालको डिपो ‘ट्याक्सी वे’मा पर्ने भएपछि नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले डिपो सार्न निगमलाई दुई वर्षदेखि ताकेता गरिरहेको छ।

अन्तर्राष्ट्रिय मापदण्डविपरीत ट्याक्सी वेको नजिकै सञ्चालित हालको डिपोलाई सार्न क्यानले पनि सचेत गराइरहेकाले निगम व्यवस्थापन नयाँ ठाउँमा कार्यालय राख्न तयार भएको हो। ‘त्रिभुवन विमानस्थल सञ्चालनमा देखिँदै आएको सुरक्षा सर्तकतालाई समेत ध्यानमा राख्दै डिपो सार्ने सरकारको निर्णयलाई कार्यान्वयन गर्न डिपिआर सम्झौता भएको हो,’ निगमको सिनामंगल हवाई इन्धन डिपो प्रमुख यादवले भने।

२८ साउनमा बसेको मन्त्रिपरिषद्ले समेत डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो। क्यानले विमानस्थलको उत्तर–पश्चिमतर्फ गुह्वेश्वरी क्षेत्रमा ५० रोपनी जग्गा उपलब्ध गराएको र सोही ठाउँमा नयाँ डिपो निर्माण हुने यादवले जानकारी दिए। हाल पाँच हजार किलोलिटर मात्रै भण्डारण क्षमता रहेकोमा नयाँ डिपोमा १५ हजार किलोलिटर क्षमताको भण्डारण गृह राखिने उनले जानकारी दिए।

‘बढ्दो हवाई उडानका कारण इन्धनको माग पनि बढिरहेको छ। त्यसैले, स्टोरेज क्षमता वृद्धि गर्न पनि नयाँ ठाउँमा डिपो सार्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ,’ उनले भने।

डिपिआर सम्झौताका लागि बुधबार आयोजित कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा। सुरज लामिछानेले ५० वर्षदेखि पुल्चोक कलेजसँग डिपिआरको अनुभव भएको बताए। ‘हामीसँग अनुभवी र दक्ष जनशक्ति छन्। यी जनशक्तिको प्रयोग गरेर आयल निगमले अघि बढाउन लागेको परियोजनाका लागि उत्कष्ट सेवा दिनेछौँ,’ उनले भने।

त्यस्तै, पुल्चोक इन्जिनियरिङ कलेजको कन्सल्टेन्सी सेवा विभाग प्रमुख नारायणप्रसाद गौतमले राष्ट्रिय गौरवका आयोजनाहरूको समेत डिपिआर गर्ने क्षमता संस्थानसँग भएकाले निगमको नयाँ डिपोको अध्ययन र डिजाइन गर्न कुनै समस्या नहुने बताए। ‘हाम्रो विशेषज्ञ सेवाको प्रयोग गरेर डिपिआर रिपोर्ट दिनेछौँ,’ उनले भने।

आयल निगमको सिनामंगल डिपोमा कार्यरत इन्जिननियर अनुपम पराजुलीले मुलुककै अग्रणी इन्जिनियरिङ कलेजबाट नयाँ डिपोको डिपिआर गर्न पाउँदा खुसी लागेको बताए। ‘यो परियोजनामा पुल्चोक इन्जिनियरिङ कलेजको अनुभव र विशेषज्ञता प्रयोग गर्न पाउँदा खुसी लागेको छ,’ पराजुलीले भने। परियोजनालाई दिगो र सबल बनाउन पुल्चोक कलेजको डिपिआरले मद्दत पुग्ने विश्वास लिएको उनले बताए।

क्यानले करिब ५ वर्षअघि गुह्वेश्वरी क्षेत्रमा हवाई इन्धन डिपो सार्न उपयुक्त हुने प्रतिवेदन तयार गरेको थियो। सो प्रतिवेदनअनुसार डिपो निर्माण गर्न करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, नयाँ डिपिआरपछि लागत यकिन हुने निगमले जनाएको छ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहीबार  ०६ : ५५ बजे