नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा भन्दा धेरै ब्याजदरमा निक्षेप सङ्कलन गरेन । केन्द्रीय बैंकले अल्पकालीन ब्याजदर बढ्ने जोखिम देखेपछि ब्याजदर करिडोरको तल्लो सीमा भन्दा माथि गएर निक्षेप संकलन नलिएको हो ।
आइतबार केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता खिच्न तथा अन्तर बैंक दर ३ प्रतिशत भन्दा तल झर्न नदिन ५० अर्बको निक्षेप संकलन जारी गरेको थियो । तर, उक्त निक्षेप सङ्कलनका लागि ४ बैंक तथा वित्तीय संस्थाले ४ वटा आवेदन मार्फत ९ अर्ब ५० करोडको मात्र निक्षेप दिन चाहेका थिए । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम र न्यूनतम ब्याजदर ३ प्रतिशत माग गरेका थिए । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले माग गरेको ३ प्रतिशतको ब्याजदरमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको निक्षेप लिएको छ ।
यसभन्दा अघि मंसिर ५ गते केन्द्रीय बैकले १४ दिन अवधिको ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन माग गरेको थियो । त्यसका लागि बै।क तथा वित्तीय संस्थाले ब्याजदर करिडोरको तल्लो सीमा भन्दा धेरै ब्याज माग गरेपछि १६ अर्ब ४५ करोड रुपैयाँ बराबरको मात्रै निक्षेप लिएको थियो ।
वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहँदा केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत तरलता खिच्ने गर्छ । तर, बैंकहरुलाई दिएको स्थायी निक्षेप सुविधा मार्फत पनि तरलता व्यवस्थापन नभएको खण्डमा मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्छ । आइतबार पनि बैंक तथा वित्तीय संस्थाले ९४ अर्ब ४० करोड रुपैयाँ अधिक तरलता केन्द्रीय बैंकमा राखेका छन । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण प्रतिस्पर्धा गरेर पाउने ब्याजदर भन्दा स्थायी निक्षेप सङ्कलनको ब्याजदर धेरै हुने भएकाले पनि निक्षेप सङ्कलनमा कमी आएको हो ।
प्रतिक्रिया