तीन अर्थमन्त्रीले नियुक्त गर्न नसकेको धितोपत्र बोर्डको अध्यक्ष कसले गर्दैछ नियुक्त ?


नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनाउने प्रकृया र प्रणालीलाई ध्वस्त पारेको बिचौलिया समुह फेरी शक्तिमा आएको छ । अदालतमा मुद्दा लगेर अध्यक्ष नियुक्ति प्रकृयालाई गिजोलेको उक्त समुहले झण्डै ११ महिनाको रस्साकस्सी पछि व्यवसायिक घरानाको एजेण्डा स्थापित गराउने तयारी करिब अन्तिम चरणमा पुर्याएको हो । 

तत्कालीन बोर्ड अध्यक्ष रमेश हमालको २०८० पुस २० गते कार्यकाल पुरा भएपछि बिचौलियाहरू नयाँ स्टक एक्सचेन्ज लाइसेन्स बिक्री गर्न अनुकुल व्यक्तिलाई बोर्ड अध्यक्ष बनाउने मुख्य एजेण्डा बनाउदै आएका थिए । उक्त एजेण्डा स्थापित गराउने लडाईँका कारण तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले २०८० माघ ३ गते अघि बढाएको बोर्ड अध्यक्ष नियुक्तिको प्रकृयालाई उनी पछिका अर्थमन्त्री वर्षमान पुनले पनि निर्णयमा पुर्याउन सकेनन् । 

अर्का अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको ४ महिनाभन्दा बढी समय बित्दा बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । अर्को स्टक एक्सचेञ्जलाई सञ्चालन अनुमति दिने सम्बन्धमा सरकार नै हेरफेर गराउने शैलीमा बिचौलियाका नाइके दिपक भट्टको सक्रियता वर्ष दिन पहिलेदेखि नै जारी छ । उनको शक्तिका कारण आफू अध्यक्ष नबन्ने पक्का भएपछि पहिलो चरणमा सर्टलिस्टमा परेका ५ जना अध्यक्षका दाबेदारहरू मध्ये डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाँईले छनौट प्रक्रियाको अन्तरवार्ता तथा कार्ययोजना प्रस्तुतिकरणमा सहभागिता नै जनाएनन् । मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले मात्र अन्तरवार्ता दिएपछि बोर्ड अध्यक्ष चयन प्रकृया अलमलमा परेको जगजाहेर नै छ ।

तत्कालीन सरकारले उक्त प्रकृयालाई रद्द गर्ने निर्णय गरी नयाँ प्रकृयामा जाने तयारी गर्यो । सरकार बदलिएको अवस्थामा व्यवसायीहरूका बिचौलिया दीपक भट्टले अध्यक्ष बन्न नदिने बुझेपछि सन्तोष नारायण श्रेष्ठ अदालत गुहार्न पुगे । अदालतले पनि उक्त प्रक्रियालाई नै अघि बढाउन रोकेन । साथै महान्यायाधिवक्ताले पनि सरकारलाई पुरानो प्रक्रिया अनुसार अध्यक्ष नियुक्ति गर्दा फरक नपर्ने सुझाव दिएपछि सरकार अघि बढ्यो । अदालतको अन्तिम निर्णय भने आइसकेको छैन । उक्त मुद्दाको विषयमा आगामी माघ ३० गतेका लागि पेशी तोकिएको अवस्था छ । 

सरकार पनि बिचौलिया तथा शक्तिकेन्द्रहरूको दबाबका कारण फेरी पुरानै प्रकृयालाई ब्युताएर बोर्ड अध्यक्ष नियुक्तिको प्रकृयालाई अघि बढायो । स्रोतका अनुसार केही दिन अघि मात्र काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा यो प्रकरणकी मुख्य योजनाकार भनिएकी आरजु देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बोर्ड अध्यक्ष नियुक्तिको प्रकृया पुरानो शीराबाट अघि बढाउन निर्देशनात्मक रुपमा प्रस्तुत भएकी थिइन् । चेपुवामा परेका प्रधानमन्त्री ओलीले आरजुको इशारामा बोर्ड अध्यक्ष नियुक्तिको प्रकृया अघि बढाउन अर्थमन्त्री तथा छनौट समितिलाई भनेपछि काम फाष्ट ट्र्याकमा अघि बढ्यो । 

यस क्रममा व्यवसायिक घरानाका प्रतिनिधि एवं बिचौलिया दीपक भट्टका उम्मेदवार सन्तोष नारायण श्रेष्ठलाई नै अध्यक्ष बनाउन बोलाइएको अन्तरवार्तालाई चिरञ्जिीवी चापागाँईले अस्वीकार गरे र अन्तरवार्तामा आइतबार पनि उपस्थित भएनन् । कृष्ण बहादुर कार्की र डा. नवराज अधिकारीले प्रकृयालाई सघाउन जानै पर्ने दवाब अनुसार आइतबार अन्तरवार्तामा सहभागी भए । अन्तरवार्ता सकिएको केही बेरमा नै अध्यक्ष छनौट समितिले अनुपस्थित भएका चापागाई र कार्कीको नाम हटाएर सन्तोष नारयाण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफरिस गरेको छ । अध्यक्ष छनौट समितिले सिफारी गरेका व्यक्ति मध्येबाट एकलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । स्रोतका अनुसार सोमबार मन्त्री परिषदको बैठक भएको हुनाले बोर्ड अध्यक्ष पनि आजै टुङगो लाग्ने देखिन्छ । चीन भ्रमणको पुर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सोमबारका लागि मन्त्रीपरिषद बैठक आह्वान गरिसकेको अवस्था छ ।

व्यवसायिक घरानाहरुसँगको चर्को लबिङ, त्यही खेमाबाट आरजु राणाले बालुवाटार नै पुगेर प्रधानमन्त्रीबाट हटाउने चेतावनी सहित आफ्नो मान्छेलाई बोर्डको अध्यक्ष बनाउन भनेपछि बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त हुने करिब पक्कापक्कि जस्तै छ । व्यवसायिक घरानाको चाहना अनुसार अध्ययन बन्ने सन्तोस नारायण श्रेष्ठले पुँजी बजारको स्थायीत्व र दिर्घकालिन विकास तथा साना लगानीकर्ताको संरक्षण भन्दा पनि विचौलियाको इसारा अनुसरा नयाँ स्टक एक्स्चेञ्जको अनुमति, अयोग्य कम्पनीलाई पनि प्रिमियमा सेयर निष्कासन अनुमति लगायतका बजारलाइ गलत दिशातर्फ डार्याउने खालका कामहरु गर्ने निश्चित छ । सरकारले सन्तोस नारायणलाई छोडेर सिफारीमा परेको धितोपत्र बोर्डका कर्मचारीलाई नै बोर्ड अध्यक्ष नियुक्त गरेको खण्डमा धितोपत्र बजार र लगानीकर्ताका लागि काम हुनेमा भने पक्का छ ।  

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार  १३ : ५३ बजे