बैंक तथा वित्तीय संस्थाले कुनै एक संस्थाको मात्रै धेरै निक्षेप लिनु भनेको जोखिम उच्च हुनु हो । ठुलो आकारमा डिपोजिटरले निक्षेप फिर्ता लिँदा संस्था नै समस्यामा पर्न सक्ने भएकाले नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकको सीमा तोकिदिएको छ ।
कुनै एक संस्थाले निक्षेप फिर्ता लैजाँदा अन्य निक्षेपकर्तालाई भुक्तानी दिन नसक्ने अवस्था नआओस भनेर केन्द्रीय बैंकले पन िसंस्थागत निक्षेपकर्ताको सीमा ५० प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । कुल निक्षेपमा संस्थागत भन्दा पनि व्यक्तिगतको हिस्सा धेरै भएको राम्रो मानिन्छ । यसो हुँदा कुनै एक निक्षेपकर्ताले निक्षेप फिर्ता लिँदा पनि अन्यलाई समेत भुक्तानी दिन सक्ने अवस्था रहन्छ । तरलताको दृष्टिकोणबाट पनि बैंक तथा वित्तीय संस्थामा संस्थागत निक्षेपभन्दा व्यक्तिगत निक्षेप धेरै भएको राम्रो हो ।
संस्थागतभन्दा व्यक्तिगत निक्षेप धेरै भएको संस्थाको तरलताको अवस्था सहज र सुरक्षित हुने पुर्व बैंकर भुवन कुमार दाहाल बताउँछन् । “संस्थागत निक्षेप धेरै हुँदा ‘कन्सट्रेसन रिस्क’ हुन्छ,” दाहालले भने, “संस्थागत निक्षेपको हिस्सा उच्च भएको खण्डमा निक्षेप फिर्ता दिनु पर्दा बैंक रनको अवस्था समेत आउन सक्ने भएकाले केन्द्रीय बैंकले सीमा नै कामय गरिदिएको छ ।”
तरलता व्यवस्थापनको पक्षबाट हेर्दा पनि संस्था भन्दा व्यक्तिगत बचत तथा मुद्दती धेरै भएको संस्थालाई सुरक्षित मानिन्छ । व्यक्तिगत निक्षेप धेरै हुदाँ सबै जना एकैपटक निक्षेप झिक्न आउने सम्भावना पनि न्यून हुन्छ र कुनै एक निक्षेपकर्ताको निक्षेप फिर्ता गर्दा संस्थालाई पनि खासै असर पर्दैन ।
केन्द्रीय बैंकको एकिकृत निर्देशन अनुसार पनि कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको बढीमा १० प्रतिशतसम्मको सीमामा नबढ्ने गरी संस्थागत निक्षेप परिचालन गर्न पाउँछन । त्यसैगरी बैंकहरुले कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश ५० प्रतिशतभन्दा बढी कायम गर्न पाउँदैनन् ।
वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कुल निक्षेपको अंश कुल स्वदेशीे निक्षेप दायित्वको १० प्रतिशत र विकास बैंक तथा फाइनान्सले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । केन्द्रीय बैंकले कुनै एउटा निक्षेप झिकिँदा संस्थामा समस्या नआओस् भनेर यस्तो व्यवसथा गरेको हो ।
तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासको निक्षेपलाई हेर्दा आधाभन्दा धेरै वाणिज्य बैंकहरुको संस्थागत निक्षेप कुल निक्षेपको ४० प्रतिशतभन्दा धेरै देखिएको छ । ती मध्ये ४ बंैंकको संस्थागत निक्षेप केन्द्रीय बैंकले तोकेको सीमा नजिक छ । त्यसमा पनि हिमालयन बैंकको संस्थागत निक्षेपको हिस्सा कुल निक्षेपको ५२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । हिमालयन बैंकको संस्थागत निक्षेपमा केन्द्रीय बैंकले तोकेको सीमा अनुसारको संस्थागत निक्षेप मात्र नभइ प्राइभेट कम्पनीको पनि निक्षेप भएकाले धेरै देखिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए ।
पौडेलका अनुसार कुल निक्षेपमा ५० प्रतिशतभन्दा धेरै हिस्सा हुन नहुने भनेको सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत संचालित कोषहरुको निक्षेप हो । यसमा प्राइभेट कम्पनीको निक्षेपलाई गणना गर्न नमिल्ने पौडेलको भनाइ छ । हिमालयन बैंकको संस्थागत निक्षेपमा प्राइभेट कम्पनीको निक्षेप पनि भएकाले ५२ प्रतिश पुगेको उनले बताए । केन्द्रीय बैंकको तथ्याङकमा प्रालि र पब्लिक कम्पनीको निक्षेप भनेर नछुट्याई संस्थागत र व्यक्तिगत मात्र वर्गिकरण गरिएको उनले स्पष्ट पारे ।
केन्द्रीय बैंकका अनुसार हिमालयन बैंकको संस्थागत निक्षेप सबैभन्दा धेरै रहेको छ भने व्यक्तिगत निक्षेप धेरै हुनेमा नेपाल बैंक रहेको छ । सरकारी स्वमित्वको नेपाल बैंकमा कुल निक्षेपको ८३ प्रतिशत हिस्सा व्यक्तिगत निक्षेपको छ । त्यसैगरी माछापुच्छ्रे बैंकको व्यक्तिगत निक्षेपको हिस्सा ७३ प्रतिशत रहेको छ भने सिटिजन्स बैंकको कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा ७० प्रतिशत छ । वाणिज्य बैंकहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको औसत हिस्सा ३७ र व्यक्तिगतको ६२.१७ प्रतिशत छ ।
प्रतिक्रिया