हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर छ : मन्त्री अधिकारी 


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले महिलामुक्तिको घोषणा गरेको १६ वर्ष पुगिसक्दा पनि मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको पहिचान र प्रमाणीकरणको काम सम्पन्न नभएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । राष्ट्रिय कृषि बँधुवा मजदुर संर्घष समितिको अगुवाईमा कृषि बधुवा मजदुरहरू, मुक्त हरुवाचरुवा, हलिया, कमैया र कमलरी समुदायसँग गरेको प्रतिबद्धता र सहमतिको कार्यान्वयन प्रक्रियाका लागि सरोकारवालासँग मन्त्री अधिकारीले अन्तरक्रिया गरेका हुन । 

मन्त्री अधिकारीले छुट भएका हलिया र कमैया परिवारहरूको पहिचान र प्रमाणीकरण छिटो गर्न र उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, जिविकोपार्जनमा सहजीकरण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए । विगतमा भएका समझदारीको पालनामा मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री अधिकारीको भनाई छ । 

अन्तरक्रियामा मन्त्री अधिकारीलाई राष्ट्रिय कृषि बँधुवा मजदुर संर्घष समितिको तर्फबाट मुक्तकमैया समाजको केन्द्रीय अध्यक्ष पशुपति चौधरी, दलित भूमि अधिकार युनियनका महासचिव श्याम सुनार, कमैया महिला जागरण समाजका अध्यक्ष कृष्णी चौधरी लगायतले  हरुवाचरुवा, हलिया, कमैया र कमलरीको सवालमा सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउका थिए । मुक्तकमैया समाजका अध्यक्ष पशुपति चौधरीले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा समेत समावेश भएको यस विषयलाई मन्त्रालयले प्रभावकारी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । 

मुक्तहलिया, कमैया कम्लहरी तथा हरवा चरवा वस्तु स्थिति अध्ययन समितिले मन्त्रालयमा पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, पुनस्थापना र कार्ययोजनालाई तिन तह कै सरकारले अविलम्व लागू गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको हो । 

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार  १६ : ४३ बजे