घटेन तरकारीको भाउ : टमाटरको प्रतिकेजी मूल्य १२० रुपैयाँ, काउलीलाई १३० पर्ने


असोजको पहिलो सातादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोले महंगिएको तरकारीको भाउ अझै सामान्य हुन सकेको छैन।

अहिले पनि कालिमाटीमा तरकारीको भाउ उच्च छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा कालीमाटीमा तरकारीको आपूर्ति हुन नसकेको बेला बढेको मूल्यमा सुधार नभएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा, काउली, प्याज, लौका, हरियो फर्सी, इस्कुस, तिते करेला, पालुगो साग, तोरीको साग जस्ता तरकारीको भाउ उच्च छ ।

अवस्था सामान्य बनेको भएतापनि बाढी पहिरोले तरकारी तथा तरकारीको बीउ नै नष्ट गरेकोले आयातमा सुधार नभएकोले भाउ पहिलाको अवस्थामा नआएको एक व्यापारीले बताए ।

पहिलाको तुलनामा भाउ सामान्य घटेको भन्दै उनले अब विस्तारै मूल्य घट्दै जाने उनको भनाइ छ । शुक्रबार तराई सानो गोलभेँडाको प्रतिकेजी अधिकतम मूल्य १२० रुपैयाँ तोकिएको छ भने काउली ज्यापुको प्रतिकेजी अधिकतम मूल्य १३० रुपैयाँ तोकिएको छ ।

शुक्रबार ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ, रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । यस्तै बन्दा लोकल ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ , प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४० रुपैयाँ प्रति केजीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार  ०८ : ४८ बजे