बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी


काठमाडौँ । बेमौसमी काँक्राखेती गरेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै डेढ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् ।

तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गरेका छन्। हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताए। काँक्रा प्रतिकिलो ७० रुपैयाँदेखि ८० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । “स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भने, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पु¥याएर बिक्री गरिँदै आएको छ ।” अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए ।

गत वर्ष उनले दुई रु लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गरेका थिए । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहेका छन् । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताए।

भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताए । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडी लगायतको खेती गर्छन् ।

काँक्राखेतीबाट तीन लाख रुपैयाँ र अन्य तरकारीखेती गरी वर्षमा उनले सात लाख रुपैयाँदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आएका छन् । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आएका छन् । उनले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आएका छन् ।

“तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भने, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आएका छन्। व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गरे । रासस

प्रकाशित मिति: १६ मंसिर २०८१, आइतबार  १५ : २२ बजे