एनपिएलः चितवनले दियो कर्णालीलाई एक सय ३१ रनको लक्ष्य


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स सामु जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो ।

चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान नौ\नौ र दीपक बोहोराले आठ रनको योगदान दिए ।

शरद भेषावकरले अविजित रहँदै छ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त पाँच रन प्राप्त ग¥यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक तीन विकेट लिए । कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एक\एक विकेट हात पारे । अहिले कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार  ११ : ४९ बजे