स्टक ब्रोकर्स एसोसिएसनको शुक्रबार भएको ३० औ वार्षिक साधारण सभाले नयाँ कार्यसमितिको चयन गरेको छ । साधारणसभामा नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट हिमालयन ब्रोकरे कम्पनीका अध्यक्ष सागर ढकाल निर्वाचित भएका छन् । नयाँ ब्रोकरको समुहबाट अध्यक्षका लागि उम्मेदवारी दिएका ढकाल राजकुमार तिमिल्सिनालाई पछि पार्दै विजय भएका हुन । एसोसिएसनको जिम्मेबारी पाएसँगै धितोपत्र बजारलाई चलायमान बनाउन सरोकारवाला पक्षहरूसँग हातेमालो गरेर अघि बढ्ने योजनाका बनाएका नवनिर्वाचित अध्यक्ष ढकालसँग नोटबजारले गरेको छोटो कुराकानी
एसोसिएसनको नेतृत्व तपाइको जिम्मामा आएको छ, आगामी दिन कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ?
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्वमा भर्खरै मात्र आउनु भएका अध्यक्ष ज्यूलाई विषेश बधाई दिन चाहन्छु । पछिल्लो समयमा दुई धारमा देखिएका धितोपत्र ब्रोकर व्यवसायीहरू एक भएका छौ । साथै नयाँ पुराना नभनी साथीहरूले मलाई विश्वास गरेर नेतृत्व पुर्याउनु भएको छ । साथीहरूको विश्वाशलाइ कायम राख्ने गरी काम गर्नेछु ।
धितोपत्र बजारलाई गति प्रदान गर्नका लागि आवश्यक नयाँ पूर्वाधार तथा औजारहरूको सन्दर्भमा सरोकारवाला पक्षहरूसँग सहकार्य गरेर अघि बढ्ने छौ । यसै सन्दर्भमा धितोपत्र बोर्डमा पनि नयाँ नेतृत्व आएको अवस्था छ । म पनि एसोसिएसनमा नयाँ छु । त्यसमा साथै एसोसिएसन पनि हिजोको तुलनामा ठुलो भएको छ । ब्रोकर व्यवसाय पनि निकै प्रतिस्पर्धा भएको छ । यस्तो अवस्थामा समग्र बजार चलायमान बनाउने तथा बजारको दिगो विकासका लागि गर्नु पर्ने काम धेरै छन । त्यस सन्दर्भमा सबै पक्षहरूको सल्लाह सुझाब सहित बजार सुधार तथा पुँजीबजारको हितमा काम गर्नेछु । त्यसका लागि नियामक निकासंग निरन्तर घचघच्याइ पुँजी बजारका लागि आवश्यक सुधारका लागि पहल गर्नेछु ।
एशोसिएसनले बजार तथा धितोपत्र ब्रोकरको हितमा पहल गर्नु पर्ने काम धेरै छन्, तत्कालका लागि तपाइको प्राथमिकतामा के के पर्छन् ?
सबैभन्दा पहिलो धितोपत्र बजार तथा व्यवसायीका समस्यालाई पहिचान गर्नेछु । बुँदागत रुपमा पहिचान गरिएका समस्याहरूका वर्गीकरण गरेर तत्काल गर्नु पर्ने कामहरूलाई प्राथमिकतामा राखे अघि बढ्नेछु । अहिले तत्काल गर्नु पर्ने कामको रुपमा मार्जिन ल्यान्डिङ, धितोपत्र ब्रोकरको चुक्ता पुँजी पुर्याउनु पर्ने समय अवधि लगायतका छन । यी विषयलाई हाम्रो टिमले घोषणा पत्रमा पनि समावेश गरेको छ । त्यसका साथै मर्जर भएर विलय भएका कम्पनीलाई दिएको पुँजीगत लाभकर छुटको विषयमा केही अन्योल देखिएको छ ।
त्यसमा धितोपत्र ब्यावसयाीहरुलाई जिम्मेबारी बनाइएको छ । त्यस विषयलाई अर्थमन्त्रालय मार्फत सम्बोधन गराउनु पर्ने हुन्छ । त्यसका लागि हामी सबै साथीहरु एक भएर त्यो अन्योलको विषयलाई टुङगोमा पुर्याउने छौ । त्यसैगरी चुक्ता पुँजी सन्दर्भमा पनि नियामक निकायसंगको समन्वयमा समय अवधि थप गर्ने विषयमा काम हुनेछ । साथै बजारलाई चलयमान बनाउन तत्काल नै गर्नु मार्जिन ट्रेडिङको सन्दर्भमा पनि धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक गर्दै ठोस नतिजा आउनुे गरी काम हुनेछ ।
तपाइको बुझाइमा धितोपत्र बजारमा तत्काल हुनु पर्ने कामहरु के के हुन जस्तो लाग्छ ?
पूँजी बजारमा अत्यावश्यक रहेका मार्जिन ट्रेडिङ, कारोबार लिमिट, ब्रोकरको कार्यक्षेत्र विस्तार लगायतका छन् । यससंगै इन्ट्रा डे कारोबार तथा सर्ट सेलिङ्ग एवं इक्विटि डेरिभेटिभ आदिको विकास गरी सञ्चालनमा ल्याउनु पर्ने छ । धितोपत्र दलाल व्यवसायीलाइ लगानी व्यवस्थापन सेवा, लगानी एडभाइजरी सेवा मार्जिन लेण्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्नु पाउनु पर्छ भन्ने माग हाम्रो हो । हाल २ वटा मात्र डिम्याट खाता खोली शेयर कारोबार गर्न पाउने सम्बन्धी व्यवस्थाका कारण शेयर कारोबारमा जोखिम बढेको हुँदा यसलाई खुला गर्नु पर्छ ।
हाल धितोपत्र दलाल व्यवसायी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणा सम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा यस्तो सीमा ५० गुणा सम्म बनाउन पर्ने आवश्यक छ । २० करोड पूँजी भएका धितोपत्र ब्रोकर्शहरुले मार्जिन लेण्डिंग तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधन गर्नु पर्छ । त्यसका लागि एसोसिएसनले काम गर्नु पर्नेछ । सञ्चालनमा रहेका धितोपत्र दलाल व्यावसायी कम्पनीका सेयरधनीहरुलाई आफ्नै संस्थाबाट सेयर खरिद बिक्री गर्न रोक लगाइएको छ । त्यो हुन हुदैन । खरिद गरी तोकिएको समय सीमाभित्र खरिद वापतको रकम भुक्तानी गर्न अटेर गर्ने ग्राहकहरुको सेयर बिक्री गरी राफसाफ गर्ने हालको व्यवस्थालाई संशोधन गरी सहज बनाउनु पर्ने छ ।
त्यसैगरी धितोपत्र दलाल व्यवसायीहरुको पूँजीवृद्धि सम्बन्धी व्यवस्था हाल २०८२ असार मसान्त सम्म रहेकोमा सो समयावधि कम्तीमा ६ महिना देखि १२ महिनासम्म थप गर्न पहल गर्ने । सेटलमेन्ट ग्यारेण्टि फण्डको सञ्चालनका लागि कार्यविधि संशोधन गरी सञ्चालनमा ल्याउन आवश्यक पहल गर्ने तथा धितोपत्र दलाल व्यवसायीहरुले आफैले धितोपत्र कारोबार प्रणालीको विकास गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन हालको नीतिगत व्यवस्थालाई संशोधन गर्नु पर्ने लगायतका धेरै कामहरु छन । यी सुधारले आम लगानीकर्ताको मनोबल बलीयो बनाउन तथा धितोपत्र बजारलाई चलायमान बनाउन महत्वपुर्ण भुमिका राख्ने छ ।
नयाँ स्टक एक्सचेन्ज ल्याउने आवश्यक छ र छैन भनेर निकै विवाद सुनिन्छ, तपालाई के लाग्छ नयाँ स्टक एक्सेचन्ज आवश्यक हो ?
नयाँ स्टक एक्सचेन्जको विषमा हामी स्पष्ट छौ । नयाँ स्टक एक्सचेन्ज आउनु पर्छ । पुँजी बजारका लागि आवश्यक नयाँ पूर्वाधार तथा औजाहरु आउनु पर्छ । जस्ले समग्र बजारलाई चलायमान बनाउन मद्दत गर्छ । नयाँ स्टक एक्सचेन्ज औजाहरु नआउदासम्म धितोपत्र बजारको दायरा विस्तार सम्भव छ । धितोपत्र बजारलाई समय सापेक्ष विकास गर्नका लागि पनि नयाँ स्टक एक्सचेन्ज जरुरी छ । त्यो संगै इक्वीटीको बाहुल्यता रहेको बजारमा नयाँ वित्तीय उपकरणहरु पनि प्रवेश गराई विविधिकरण गर्नु पर्ने छ । हाल सञ्चालनमा रहेको स्टक एक्सचेन्जलाई प्रतिस्पर्धा बनाइ समग्र पुँजी बजारको हितका लागि पनि नयाँ स्टक एक्सचन्ज आउनु पर्छ भन्ने हो । यसमा एसोसिएसनका साथीहरूको पनि बुझाई पनि एक छ ।
प्रतिक्रिया