प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पिइभिसी) सञ्चालनका लागि कानुनी अस्पष्टताले अन्योल बढाएको छ । धितोपत्र बोर्डले ल्याएको विशिष्टीकृत लगानी कोष नियमावली २०७५ ले मात्रै पिइभिसी सञ्चालनका लागि पर्याप्त नदेखिएको हो ।
पिइभिसी आफैमा धेरै नियमन गरिनु पर्ने क्षेत्र भित्र नपर्ने भएपनि लगानी ल्याउन देखि फिर्ता लैजाने सम्मको प्रक्रियाको विषयमा नै नियमावलीले स्पष्ट नबोलेको सरोकारवालाहरूको भनाइ छ । हाल सञ्चालनमा रहेका केही विदेशी पुँजी परिचालन गर्ने पिइभिसीलाई हाल नियमावलीले सम्बोधन नगर्ने नेपाल प्राइभेट इक्विटी सङ्घका अध्यक्ष सिद्धान्त राज पाण्डेले बताए । “हाल प्रत्यक्ष वैदेशिक लगानीलाई व्यवस्थापन गर्दै आएका केही पिइभीसहरुले नियमावली अनुसार अनुमतिी लिइ काम गर्ने अवस्था छैन,” पाण्डेले भने, “कानुनी अस्पष्टताको विषयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाललाई भेटेर यस सम्बन्धमा सुझाव पनि दिएका छौ ।” हालको नियमावली विदेशी लगानीकर्ताबाट फन्ड ल्याएर वा विदेशी फण्डको लगानी परिचालन गर्ने तथा लगानीको प्रकृतिको विषयमा स्पष्ट नबोलेको उनको भनाइ छ ।
नियमनको व्यवस्था नै नहुदाँ पनि स्वःनियमनमा सञ्चालन भएका पिइभीसीलाई नियमावली आएपछि झनै अप्ठ्यारो भएको पाण्डेले बताए । नियमावलीले विदेशी लगानीकर्ताबाट पुँजी ल्याएर वा विदेशी कोषको पुँजीलाई स्वदेशमा परिचालन गर्ने संस्थालाई पिइभीसी स्वीकार गर्दैनन् । नियमावली अनुसार पुँजी संकलन गर्दा इकाई दिएको हुनु पर्छ । तर, विदेशी लगानी ल्याएका बिजनेस अक्सिजन तथा डोल्मा जस्ता संस्थाले इकाई नदिई सिधै पुँजी ल्याएर लगानी गर्ने गरेका छन् ।
नियमावली अनुसार धितोपत्र बोर्डका दर्ता भएर सञ्चालनमा आएका पिइभिसीले भने इकाई बिक्री मार्फत पुँजी संकलन गरेर लगानी गर्ने गरेका छन् । हालको नियमावलीले पुँजी संकलन गर्न सक्ने भएपनि प्रक्रिया स्पष्ट नहुँदा समस्या देखिएको पिइभीसीका अधिकारीहरूको भनाइ छ । पिइभिसीले लगानी गरेको कम्पनीले साधारण सेयर निष्कासन पछि सेयर बिक्री गर्नका लागि एक वर्षको लकइन अवधि हुन नहुने माग उनीहरूले अघि सार्दै आएका छन । त्यसैगरी डेब्ट इन्भेष्टमेन्टको सीमा बोर्डले तोक्ने सन्दर्भमा समेत फरक मत राख्दै आएका छन् । यसका लागि नियमावली संशोधन सहित थप स्पट पार्ने निर्देशका आवश्यक रहेको उनीहरूको भनाइ छ ।
नियमावली आइसकेपछि त्यसलाई थप स्पष्ट पार्नका लागि निर्देशिका आउनु पर्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए । “निर्देशिका ल्याउने विषयमा छलफल पनि भएको छ,” ती अधिकारीले भने,“सबै इन्भेष्टमेन्ट कम्पनीलाई पिइभिसी भन्न मिल्दैन, पिइभिसीको काम गर्नका लागि नियमावली अनुसार बोर्डको अनुमति लिएको हुनु पर्छ ।” नियमावलीलाई थप स्पष्ट पर्ने गरी निर्देशिका आवश्यक देखिएको महसुस बोर्डलाइ पनि भएको उनको भनाइ छ । हालसम्म विशिष्टीकृत लगानी कोष व्यवस्थापनको रुपमा काम गर्न अनुमति पाएको संस्थाको संख्या १३ रहेको छ ।
पिइभिसी अर्थतन्त्रलाई चलायमान बनाउने औजारको रुपमा बुझिन्छ । वित्तीय अफठ्यारोमा परेका तथा पुँजी अभावमा सञ्चालन मै आउन नसकेका प्रोजक्टहरुमा सिमित अविधका लागि लगानी गरेर उद्योग व्यवसायलाई सञ्चालन गर्ने काम पिइभिसीले गर्छन । यसरी लगानी गर्दा पिइभिसीले सेयर, नाफको हिस्सेदारी, कर्जा लगायतका माध्यबाट लगानी गर्छन ।
नेपालको सन्दर्भमा विदेशी कोषको नेपालमा लगानी, विदेशी लगानीकर्ताले लगानी गरेको नेपाली कोष, धितोपत्र बोर्डमा दर्त भएर सञ्चालनमा भएका र दर्ता नभई सञ्चालनमा रहेका कोषहरु छन् । यीनीहरुले विभिन्न प्रोजेक्टमा लगानी गर्ने र निश्चित समयपछि बाहिरीने गरेका छन । तर, यी सबैको माग भनेको विशिष्टीकृत लगानी कोष योजना अनुसार दर्ता हुन दिनु पर्ने भनाइ छ । तर, धितोपत्र बोर्डले भने इकाई बिक्री नगर्ने पिइभिसीको हकमा बोर्डबाट अनुमति प्रदान नहुने स्पष्ट छ । यसले गर्दा पनि काम गरीरहेका पिइभीसीलाई कानुनी दायरामा आउन अप्ठ्यारो परेको हो ।
बैंक तथा वित्तीय संस्थामा कर्जा लिएर कुनै पनि उद्योग व्यवसाय सञ्चालन गर्नका लागि धितो चाहिन्छ । तर, पिइभीसले धितो बिना नै लगानी गर्ने भएकाले पनि सहज र तत्काल लगानी जुटाउने माध्यको रुपमा लिइन्छ । पछिल्लो समयमा बैंकिङ क्षेत्रको प्रतिस्पर्धिको रुपमा पनि पिइभिसीलार्इ हेर्ने गरिएको छ । अझै भन्नु पर्दा बैंकिङ क्षेत्र भन्दा विशिष्टीकृत लगानीको क्षेत्र निकै ठुलो हुने विश्लेषण समेत गर्ने गरिएको छ ।
सन २०२४ सम्ममा विभिन्न प्रकारका पिइभिसीका १६ वटा कोष मार्फत ९६ वटा लगानी मार्फत एक सय एक मिलियन अमेरिकी डलर बराबरको पुँजी परिचालन भएको नेपाल प्राइभेट इक्विटी एसोसिएसनले जनाएको छ । संघका अनुसार २०१९ देखि हालसम्म विभिन्न ५ फण्डले १७ वटा लगानी फिर्ता गरिसकेको अवस्था छ । अधिकासं लगानी फिर्ता हुदाँ करिब २० प्रतिशतको हाराहारीको प्रतिफल सहित बाहिरीएको संघले जनाएको छ । तर, या विचमा डोल्मा एडभाइजर मार्फत लगानी भएका निधान अस्पताल र सस्तो डिल भने असफल सबित भैसकेको अवस्था छ ।
प्रतिक्रिया