अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिलवालले नागरिकता र राहदानीमा जालझेल गरी पदमा बसेर अख्तियारको दुरुपयोग गरेको भन्दै साढे ३६ लाख असुलीको माग गर्दे मुद्दा दायर गरेको हो ।
आयोगले सिलवालविरुद्ध सोमबार नागरिकतामा पटकपटक जन्म मिति संशोधन गरेको तथा राहदानीमा केरमेट र जालझेल गरेको अभियोगमा आरोपपत्र दायर गरेको जनाएको छ । प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरमा अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत् पदमा बहाल रहेको अख्तियारको ठहर छ ।
सिलवालले २०८० साउन १६ यता ९ महिना पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोगपछि कानून बमोजिम कारबाहीको माग गर्दै अख्तियारले मुद्दा दायर भएको हो । सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२ फागुन २४ गते नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष भएको उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा २०६६ वैशाख १७ गते जारी नागरिकतामा जन्म मिति २०१६ कात्तिक २२ गते उल्लेख रहेको अख्तियारले जनाएको ।
त्रिभुवन विश्वविद्यालय बाट जारी स्नातक तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ गते उल्लेख छ । स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरणमा समेत ट्रान्सक्रिप्टमा भएको जन्म मिति २०१५ साउन १५ गते उल्लेख गरी विवरण भरी निजामती सेवामा २०४३ साउन १ गते राजपत्र अनङ्कित तृतीय श्रेणीको पदमा नियुक्ति लिएको पाइएको आरोप पत्रमा उल्लेख छ ।
सोही जन्म मितिका आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी २०७३ साउन १५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएको छ । सिलवालले २०१५ साउन १५ गतेलाई जन्म मिति कायम गरी निजामती सेवामा बहाल रहेको पाइएको छ । उनले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न आफ्नो उमेरको झुट्टा विवरण दिई २०१८ कात्तिक २४ राखेको अख्तियारको ठहर छ ।
उनले आफ्नो वास्तविक जन्ममिति भन्दा करिब ३ वर्ष उमेर घटाएर राष्ट्र सेवकको हैसियतले कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरेको पाइएको छ । उनले राष्ट्र सेवकको रुपमा उक्त राहदानी प्रयोग गरी लाभ, सुविधा प्राप्त गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
अरोपत्र हेर्न तलको लिङमा क्लिक गर्नुहोस
notebazar.com/…ds/2024/12/aarop-patra.pdf
प्रतिक्रिया