नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षण विभाग पुनः डेपुटी गभर्नर बम बहादुर मिश्रलाई जिम्मा लगाएका छन् । अधिकारीले बुधबार निर्णय गर्दै बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण र जनशक्ति विभागको नेतृत्व हेरफेर गरेका हुन् ।
यसभन्दा अघि बैंक सुपरीवेक्षण, वित्तीय संस्था सुपरीवेक्षण र जनशक्ति विभाग वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुङ्गाना मातहत थियो । तर, आफ्नो कार्यकाल सकिनै लाग्दा गभर्नर अधिकारीले ढुङ्गानाबाट ती विभाग पुनः मिश्रलाई जिम्मा लगाएका छन् । त्यसैगरी गभर्नर अधिकारीले जनशक्ति व्यवस्थापन विभाग पनि ढुङ्गानाबाट खोसेर मिश्रलाई जिम्मा लगाएका छन् ।
केन्द्रीय बैंक भित्र सुपरीवेक्षण विभाग भने बैंक तथा वित्तीय संस्थालाई नियन्त्रणमा राख्ने विभागको हो । बैंक तथा वित्तीय संस्थाबाट विभिन्न व्यक्तिगत लाभ लिन पनि सुपरीवेक्षण विभागको नेतृत्व लिन तँछाडमछाड हुने केन्द्रीय बैंकका एक अधिकारीले बताए । कार्यकाल सकिन लागेका गभर्नरले विभाग हेरेफेर गरेर मिश्रलाई सुपरीवेक्षण विभाग दिनु भनेको आगामी गभर्नरको तयारी गरेको ती अधिकारीको बुझाइ छ । समग्र वित्तीय क्षेत्रको सहयोग र लबिङका लागि पनि उक्त विभाग मिश्रले लिएको हुन सक्ने ती अधिकारीको अनुमान छ ।
गत मङ्सिरपछि एक वर्षको अवधिमा केन्द्रीय बैंकको सुपरीवेक्षण विभागको नेतृत्व ५ पटक परिवर्तन भएको छ । डेपुटी गभर्नर बम बहादुर मिश्र मातहत रहेको सुपरीवेक्षण विभागका सन्दर्भमा चौतर्फी आलोचना बढेपछि गभर्नर अधिकारीले उक्त विभाग वरिष्ठ डेपुटी ढुङ्गानालाई जिम्मा लगाए । ढुङ्गाना मातहत सुपरीवेक्षण विभाग आएपछि मिश्र र तत्कालीन कार्यकारी निर्देशक देवकुमार ढकाल रुष्ट भए । मिश्र र ढकालले वित्तीय क्षेत्रबाट लिएको व्यक्तिगत लाभ बाहिर आउन सक्ने वा रोकिने भएपछि उनीहरु रुष्ट भएका थिए । रुष्ट ढकालले निलमलाई रिर्पोटिङ गर्न नमानेपछि गभर्नर अधिकारीले उक्त विभाग डेपुटी गभर्नर मातहत नराखी आफैले जिम्मा लिए ।
गभर्नर अधिकारीले जिम्मा लिँदा कार्यकारी निर्देशक ढकालको अवकासको समय नजिकिँदै गएपछि महत्वपूर्ण निर्णय गर्नु पर्ने विभाग दिन नहुने भन्ने विरोध भएपनि उनलाई वित्त व्यवस्थापनमा पठाई कार्यकारी निर्देशक रामु पौडेललाई सुपरीवेक्षण विभागको जिम्मा लगाए । कार्यकारी निर्देशकमा पौडेल आएपछि गभर्नर अधिकारीले सुपरीवेक्षण विभागको जिम्मा २०८१ साउनमा पुनः ढुङ्गानालाई दिए । ढुङ्गानालाई जिम्मा दिएपछि सुपरीवेक्षण विभागका काम कारबाहीमा मिश्रले हस्तक्षेप भने गरि नै राखे । अहिले आएर करिब ४ महिना पछि पुनः सो विभाग मिश्र मातहत पुगेको हो ।
केन्द्रीय बैंकको सुपरीवेक्षण जस्तो विभागको नेतृत्व बारम्बार परिवर्तन हुनु राम्रो नभएको एक पुर्व गभर्नरले बताए । “सुपरीवेक्षण विभामा नेतृत्व परिवर्तन भइराख्दा शङ्का गर्ने ठाउँ हुन्छ,” ती पूर्व गभर्नरले भने,“डेपुटी गभर्नर नै सुपरीवेक्षण विभागका लागि दौडधुप गर्नु वा आफू मातहत ल्याउन खोज्नु सकारात्मक होइन ।” तर, गभर्नरलाई लागेको खण्डमा परिवर्तन गर्न सक्ने पनि उनले बताए ।
२०८० मङ्सिरमा गभर्नर अधिकारीले मिश्र मातहत भएको दोस्रो शक्तिशाली मानिने बैंक सुपरीवेक्षण विभागको जिम्मा ढुङ्गानालाई दिएका थिए । त्यसपछि गभर्नर अधिकारीले २०८० फागुनमा ढुङगाना मातहरहेको सुपरीवेक्षण विभागलाई आफू मातहत ल्याए । तत्कालीन कार्यकारी निर्देशक ढकाललाई सरुवा गर्न नसकेर गभर्नर अधिकारीले विभाग नै आफू मातहत ल्याएका थिए । अवकास हुन लागेको व्यक्तिलाई सुपरिवक्षण जस्तो विभाग दिएको भन्दै आलोचना हुन थालेपछि गभर्नर अधिकारीले उक्त विभागको जिम्मा कार्यकारी निर्देशक रामु पौडेललाईदिए । ढकाललाई वित्त व्यवस्थापन विभागमा सुरुवा गरेका थिए। ढकाल यहि मंसिर ५ गते देखि अवकास भएका छन ।
किन लगियो जनशक्ति व्यवस्थापन विभाग मिश्र मातहत?
ढुङ्गाना मातहत रहेको जनशक्ति विभागमिश्रलाई जिम्मा लगाउनुको कारण बुझ्न एक वर्ष अघि जानु पर्ने हुन्छ । २०८० पुसमा नेपाल राष्ट्र बैंकको आन्तरिक स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा निर्देशक थानेश्वर आचार्यले महिला उच्च अधिकारी माथि दुरब्यबाहार गर्छन् । उक्त घट्नामा ढकाल र मिश्रको पनि सहभागीता रहेको महिला आयोगको निष्कर्श छ । उक्त दुरब्यवहार पछि आचार्य राष्ट्र बैंकको सेवाबाट बरखास्तीमा पर्छन् । बरखास्तीमा परेका आचार्य प्रशासकीय अदालतमा गए । प्रशासकिय अदालतले आचार्यको बरखास्तीको प्रक्रिया नपुगेको भन्दै आचार्यको पक्षमा फैसला गरेको छ । उक्त फैसलाको पुर्ण पाठ आगामी महिनासम्म आउने छ । पुर्ण पाठ आएपछि आचार्य आगामी महिना पुनरवहालिका लागि आउनेछन् । मिश्र पक्षहरु आचार्यलाई हाजिर गराउने र सेवा निरन्तर दिने पक्षमा भएकाले पनि जनशक्ति विभाग ढुङ्गाना बाट हटाइएको हो । त्यसका साथै केन्द्रीय बैंकले गरेको निर्णय विपरित प्रशासकिय अदालतको फैसला आएको छ । सो सम्बन्धमा केन्द्रीय बैंक जाने विषय समेत शंकाको घेरामा छ । केन्द्रीय बैङ्कका केही पक्ष अचार्यलाई पुनरबहाली गराउने योजना सहित जनशक्ति विभागको नेतृत्व परिवर्तन गराइएको हुन सक्ने कर्मचारीहरुको बुझाई छ ।
प्रतिक्रिया