काठमाडौँ । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व सङ्कलनमा कमी आएको जानकारी दिए । कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व सङ्कलन पनि प्रभावित भएको छ ।
चालु आवको साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ, असोजमा चार अर्ब ३६ करोड रुपैयाँ र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय जनाएको छ । यस्तै, मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् तीन अर्ब २२ करोड ८४ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आवको पाँच महिनामा २१ अर्ब चार करोड १६ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया