वित्तीय प्रणालीमा अधिक तरलताको समस्या बढ्दै गएपछि ब्याजदर थप घट्न नदिन केन्द्रीय बैंकले होसियारी पूर्ण कदम चालेको छ । केन्द्रीय बैंकले सर्वसाधारणबाट लिएको निक्षेपको ब्याजदरको तल्लो सीमा कायम गरेर ब्याजदर थप घट्न नदिने नीति लिएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुद्दती निक्षेप तथा बचत निक्षेपको ब्याजदर ३ प्रतिशत भन्दा तल कायम गर्न नपाउने व्यवस्था गरेको छ । अधिक तरलताको अवस्था केन्द्रिय बैंकमा पैसा राखेर ब्याज आम्दानी गर्ने बैंक तथा वित्तीय संस्थाले आफूले पाउने भन्दा कम ब्याजदर सर्वसाधारणलाई दिन नमिल्ने व्यवस्था गरेको हो ।
वित्तीय प्रणालीमा अधिक तरलता भएको खण्डमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर करिडोरको तल्लो सीमा अनुसारको ब्याज पाउने गरी केन्द्रीय बैंकमा निक्षेप राख्न सक्छन् । तर, यस्तो सुविधा लिनका लागि बैंक वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजदर, ब्याजदर करिडोरको तल्लो सिमा भन्दा कम हुन हुदैन । हाल करिडोरको तल्लो सीमा ३ प्रतिशत कायम गरिएको छ ।
केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ । त्यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्छ । उक्त उपकरणको ब्याजदर ३ प्रतिशत भन्दा तलमाथि भएको खण्डमा आवश्यकता अनुसारको उपकरण प्रयोग गरेर तरलता खिच्ने र पठाउने गर्छ ।
नेपाल राष्ट्र बैंकले ब्याजदर स्थायित्वका लागि सञ्चालन गरेको ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन उपकरणको ब्याजदर अर्थात ३ प्रतिशत र माथिल्लो सीमा स्थायी तरलता सुविधा दर अर्थात बैंक दर कायम गरेको छ । अहिले केन्द्रीय बैंकले बैंक दर ६.५ प्रतिशत तोकेको छ । त्यसैगरी नीतिगत दरको रुपमा ओभर नाइट रिपो रेटलाई तोकेको छ । ओभरनाइट रिपो रेट ५ प्रतिशत तोकेको छ ।
बैंकहरुले स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा पनि तलरता व्यवस्थापन नभई अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ । यसरी केन्द्रीय बैंकले अन्तर बैंक दर र ब्याजदर करिडोरको तल्लो सीमा कायम राख्छ ।
राष्ट्र बैंकले खुलाबजार कारोबार कार्यविधि संशोधन गरेर स्थायी निक्षेप सुविधाका लागि मुद्दती निक्षेप र बचतको ब्याजदर ३ प्रतिशत भन्दा थोरै हुन नहुने व्यवस्था गरेको छ । यसभन्दा अघि बचतको ब्याजदर मात्रै ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम हुन नहुने सर्त राखेको थियो । तर, पछिल्लो समयमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने प्रतिस्पर्धा गरेको अवस्थामा निक्षेपकर्तालाई थप असर नहोस् भन्दै यस्तो व्यवस्था गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले बताए । “अहिले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत छ,” उनले भने, “निक्षेपकर्ताले त्यो बराबरको ब्याजदर पाउनु पर्छ भन्ने हो ।” ब्याजदर करिडोरको तल्लो सीमा अनुसारको ब्याजदर बैंकहरुले केन्द्रीय बैंकबाट पाउने भएकाले पनि निक्षेपकर्तालाई सो भन्दा कम हुन नहुने उनको भनाइ छ ।
केन्द्रीय बैंकले तरलतामा आउने उतारचढावले ब्याजदरमा अस्वभाविक घटबढ नहोस भन्दै न्यूनतम सीमा तोकेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भइ ब्याजदर अस्वभाविक घट्ने अवस्था आएमा निक्षेप संकलन उपकरण, रिभर्स रिपो तथा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्ने र तरलता अधिक हुँदा स्थायी तरलता सुविधा तथा रिपो मार्फत बजारमा तरलता पठाउँछ ।
कार्यविधि अनुसार अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, स्वदेशी मुद्राको बचत र मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर स्थायी निक्षेप सुविधाको ब्याजदरभन्दा कम नभएको, स्थायी निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने सर्त राखेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा धेरै भन्दा धेरै प्रयोग गरुन् भन्ने उद्देश्यले विगतमा राख्दै आएका सर्तहरू पनि हटाउँदै गएको छ ।
हाल बैंक तथा वित्तीय संस्थाको औसत अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । त्यसैगरी निक्षेप संकलनको औसत ब्याजदर २.९९६१ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया