नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको छ । केन्द्रीय बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय बैंकले अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंक ऐनको दफा ८६ बमोजिम कर्णाली विकास बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको केन्द्रीय बैंकले जनाएको छ ।
व्यवस्थापन समूहमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले २०८१ पुस ११ अर्थात बिहीबार देखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिएको केन्द्रीय बैंकले जनाएको छ ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने जिम्मा तोकिएको केन्द्रीय बैंकले जनाएको छ । साथै संस्थाको ड्यू डेलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलन उपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकले केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिना आशङ्का भएको, कमजोर तरलता स्थिति रहेको केन्द्रीय बैंकको निष्कर्ष छ । संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएपछि समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको केन्द्रीय बैंकले जनाएको छ ।
यस बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको केन्द्रीय बैंकले जनाएको छ । संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम मिति २०८१ मङ्सिर ११ देखि लागू हुने गरी शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।
लु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा कर्णाली डेभलपमेन्ट बैंकको खुद नोक्सानी एक करोड ९८ लाख रुपैयाँ रहेको छ । सो अवधिमा संस्थाको वितरण योग्य नाफा २० करोड ३४ लाख रुपैयाँले नकारात्मक रहेको छ । चालु आवको पहिलो त्रैमाससम्ममा बैंकमा सर्वसाधारणको निक्षेप ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले ३ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकलेप्रकासित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खराब कर्जाको अंश ७.२७ मात्र देखाएको छ । तर, केन्द्रीय बै.कले भने उक्त संस्थाको खराब कर्जा ४० प्रतिशत भन्दा धेरै रहेको जनाएको छ । मंगलबार कर्णली डेभलमेन्ट बैंकको प्रति कित्ता सेयर मूल्य ८१० रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपालगंज बाँकेमा केन्द्रीय कार्यालय रहेको बैंकको अध्यक्ष राजेन्द्र वीर राय हुन । बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको छ । संस्थाले बाँके बर्दिया, दाङ, प्यूठान र रोल्पा गरी ५ जिल्लामा बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया