अपि पावरले मध्य चमेलिया जलविद्युतमा ७३ करोड लगानी गर्ने


काठमाडौँ । अपि पावरले मध्य चमेलिया जलविद्युत कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीले आफ्ने लगानी विस्तार गर्ने क्रममा उक्त जलविद्युत कम्पनीमा ५१.५८ प्रतिशत शेयर लगानी गर्न लागेको हो।

अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला मार्मा गाउपालिकामा प्रवर्द्धन गरीरहेको २८.३०४ मेगावटको उक्त जलविद्युत आयोजना निर्माणको लागि १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ लाग्ने अनुमान छ। त्यसमा अपि पावरले आफ्नो बहुमत कायम हुने गरी लगानी गर्न लागेको हो ।

कम्पनीका अनुसार २ वर्ष भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य सहित आगामी माघदेखि निर्माण कार्य सुरु हुनेछ । अपि पावरले यस अघि चमेलिया नदीमा निर्माण पुरा गरेको ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाभन्दा केही तल यो आयोजना निर्माण हुनेछ । बाँध बाँधेर निर्माण हुने यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई उत्पादनगृहदेखि ८ किलोमिटर पर रहेको सवस्टेशनबाट १३२ केभिको ट्रान्समिशन लाइन हुँदै केन्द्रिय प्रशारण लाइनमा जोडिनेछ । निकट भविष्यमा नै वित्तीय व्यवस्थापन हुने आयोजनाको निर्माण कार्य निर्धारित समयमा नै पुरा हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: ११ पुस २०८१, बिहीबार  १३ : २८ बजे