कर्णाली प्रदेशका बैकं तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ७८ प्रतिशत


 कर्णाली प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ७८.५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब निक्षेप लिदाँ ५९ अर्ब लगानी गरेका हुन । 

केन्द्रीय बैंकका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप ११.७९ प्रतिशतले बढेको छ । गत आवसम्ममा बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो आवमा यस्तो निक्षेप ११.८९ प्रतिशतले वृद्धि भई ६७ अर्ब ४९ करोड ९२ लाख पुगेको थियो । 

गत आवमा कर्णाली प्रदेशमा प्रवाह भएको कर्जा २.२४ प्रतिशतले वृद्धि भई ५९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्षमा यस्तो कर्जा ५.४७ प्रतिशतले बढेर ५७ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ पुगेको थियो । त्यस्तै, गत आवमा यस प्रदेशको कर्जा तथा निक्षेप अनुपात ७८.५० प्रतिशत रहेको छ । उक्त अनुपात अघिल्लो आवमा ८५.८३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहेको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो वृद्धिदर १.९६ प्रतिशत रहको संशोधित अनुमान छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ४.२८ प्रतिशत छ ।

गत आवमा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले वृद्धि भएको छ । प्रमुख बालीमध्ये समीक्षा वर्षमा धान र मकै बालीले ढाकेको क्षेत्रफल क्रमशः ८.४८ प्रतिशत र २.१२ प्रतिशतले बढेकोछ भने गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.९७ प्रतिशत, २८.१६ प्रतिशत र ३३.३०२३.०१ प्रतिशतले घटेको छ । त्यसैगरी, तरकारी र बागबानी बालीले ढाकेको क्षेत्रफल ३६.४० प्रतिशत र ५.९८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.१२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा १.७१ प्रतिशतले घटेको छ । यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३.९३ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । 

गत आवमा यस प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत रहेको छ । प्लाष्टिकजन्य उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योग अन्तर्गत पिठो उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम १५.० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

गत आवमा औद्योगिक कर्जा गत वर्षको तुलनामा ३.३३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ । 

गत आवमा यस प्रदेशमा भित्रिने पर्यटकको संख्यामा २३.४० प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३.४९ प्रतिशत, १५.७७ प्रतिशत र २४.८४ प्रतिशतले वृद्धि भएको छ । 

गत आवमा यस प्रदेशमा विद्युत प्रसारण लाईन २४१६.४७ कि.मि पुगेको छ । सो अवधिमा यस प्रदेशमा १७.४१ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०८१, मंगलबार  १७ : २९ बजे