सम्राट सिमेन्टको पन्ध्र अर्ब लागतको परियोजना कार्यान्वयन सम्झौता


सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । शुक्रबार लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरेका हुन । लगानी बोर्डको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धि पछि बोर्डमार्फत अघि बढ्नेछ ।

“सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो । ६ अर्ब रुपैयाँ भन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्था अनुसार यो कम्पनी बोर्डमा आएको हो”, उनले भने, “परियोजना कार्यान्वयनका लागि आज पहिलो चरणको एमओयु भएको छ । अब परियोजना विकास सम्झौता र लगानी सम्झौतालगायत प्रक्रिया बाँकी छन् ।”

यसअघि २०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि १५ अर्ब ५ करोड रुपैयाँ बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार  १७ : २५ बजे