सिबिफिनमा सचिव बाहेक सबै पद सर्वसम्मत, पौडेलको अध्यक्षतामा यस्तो बन्यो नयाँ कार्यसमिति


नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा सर्वसम्मत भएका छन् । उनीसँगै सिबिफिन कार्यसमितिका १७ मध्ये १६ जना सर्वसम्मत भएका छन् भने सचिव पदमा निर्वाचन भएको छ ।

शुक्रबार सम्पन्न परिसंघको पाँचौं वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसमा बरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय दोहोरिएका छन् । उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत भएका हुन् ।

सचिव पदका लागि भने शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र एक्सेल डेभलपमेण्ट बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलका बिचमा निर्वाचन गरेर निर्णयक मत लिइएको थियो । जसमा शाइनमा पौडेलले ३२ मत ल्याएर जित हासिल गरे भने गोयलले २३ मत प्राप्त गरे । कुल ७६ मतदाता रहेको परिसंघमा ५५ जनाले मतदान गरेका थिए ।

सर्वसम्मत भएका अन्य पदहरुमा कोषाध्यक्षमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल, सहकोषाध्यक्षमा गोरखा फाइनान्सका गौरव बुढाथोकी सर्व सम्मत भएका छन् ।

सदस्यहरुमा कुमारी बैंकका राजाराम खड्का, एभरेष्ट बैंकका डा. बालगोपाल वैद्य, प्रभु बैंकका लिलाप्रकाश सिटौला, एनएमबि बैंकका मनोज कुमार गोयल, नेपाल बैंकका डा. चन्द्र बहादुर अधिकारी, ग्लोबल आईएमई बैंकका राधेश पन्त, लक्ष्मी सनराइज बैंकका रमण नेपाल, कामना सेवा विकास बैंकका सुदीप आचार्य, लुम्बिनी विकास बैंकका चिन्तामणी भट्टराई र प्रोग्रेसिभ फाइनान्सका लक्ष्मी प्रसाद महर्जन सर्वसम्मत भएका हुन् ।

नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

बैंकिङ क्षेत्र इतिहासकै चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको छ: सिबिफिन अध्यक्ष पौडेल

प्रकाशित मिति: १९ पुस २०८१, शुक्रबार  १९ : ३२ बजे