ऋणी समुह बैठक वा कार्यलयमा ३ पटकसम्म नआए मात्रै लघुवित्त कर्जा असुलीका लागि घर जान सक्ने 


नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कर्जा असुलीका लागि सिधै ऋणीको घर जान नपाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले लघुवित्त सञ्चालन मार्गदर्शन लागू गर्दै ऋणीलाई पनि सम्मानजनक व्यवहार गरेर मात्र कर्जा असुली गर्नु पर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले लागू गरेको मार्ग दर्शनमा लघुवित्त र ऋणीले कर्जा लेन देन गर्दा गर्नु पर्ने व्यवहारको व्यवस्था गरेको छ । त्यसैगरी लघुवित्तको आन्तरिक नियन्त्रण प्रणाली, कर्मचारी प्रशासन, ग्राहक संरक्षण, वित्तीय साक्षरता, सूचना तथा गोपनियता, गुनासो व्यवस्थापन र विवाद समाधान र ग्राहक संरक्षण कोषको विषयमा स्पष्ट व्यवस्था गर्नु पर्ने केन्द्रीय बैंकले तोकेको छ । 

मार्गदर्शन अनुसार कर्जा विश्लेषण, कर्जा सदुपयोगिताको अनुगमन एवम् कर्जा असुली लगायतका विषय सहित तर्जुमा गरिएको कर्जा नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्छ । व्यवसाय वा परियोजनाबाट अपेक्षित आय, व्यावसायिक योजना, ऋणीको साख सूचना यथार्थपरक पारिवारिक आय लगायतका विषयहरू समेटी कर्जाको विश्लेषण विधिको विकास गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । 

ऋणीको आम्दानी तथा व्यवसायको नगद प्रवाहको आधारमा कर्जा भुक्तानी तालिका तयार गरी सम्बन्धित ग्राहकलाई उपलब्ध गराउनु पर्छ । कर्जा प्रवाह वा नवीकरण गर्दा हाल भइरहेको कर्जा सूचना लिने/दिने व्यवस्थालाई व्यवस्थित एवं थप प्रभावकारी बनाउनु पर्ने मार्गदर्शनमा उल्लेख छ । 

लघु उद्यम सञ्चालनको लागि परियोजना नै धितोमा रहने गरी प्रवाह भएको कर्जाको हकमा परियोजनाको बीमा अनिवार्य रुपमा गर्ने अभ्यासलाई प्रवद्र्धन गर्नुपर्दछ । परियोजना नै धितो रहने गरी प्रवाह गरिएको कर्जालाई स्थानीय आवश्यकता र सम्भाव्यताका आधारमा व्यावसायिक उत्पादनमा आधारित उद्यम/परियोजनामा परिचालन गर्न ऋणीहरूलाई अभिप्रेरित गर्नु पर्छ । 

संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि प्रयोग गरे नगरेको एवम् समूह सदस्य स्वयम्‌ले ऋण वापत रकम प्राप्त गरे नगरेको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । कर्जा सदुपयोगिताको अनुगमनका लागि स्पष्ट जिम्मेवारी तोकिएको ऋण अधिकृत/कर्मचारी नियुक्त गरी ऋणीसँग निरन्तर सम्पर्कमा रही कर्जालाई सही प्रयोजनमा उपयोग गर्नका लागि ऋणीलाई अभिप्रेरित गर्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । ऋणीले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि प्रयोग गरेको नगदको स्रोतको अनुगमन गर्नु पर्ने समेत मार्गदर्शनमा उल्लेख छ । 

लघुवित्तले कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि अपनाउन हुँदैन । कर्जा असुली गर्दा ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग गर्न हुदैन । ऋणीलाई अनावश्यक रुपमा फोन गर्न नहुने, ऋणीको परिवार, साथी एवम्सहकर्मीलाई अपमान गर्न नहुने, ऋणी वा परिवारको सम्पत्ति वा मान प्रतिष्ठामा हानि नोक्सानी पुग्ने गरी हिंसाको धम्की दिन नहुने, ऋणीलाई ऋण नतिर्दा आउनसक्ने परिणामका बारेमा गलत सूचना दिन नहुने व्यवस्था मार्गदर्शनले गरेको छ । 

ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थानमा जस्तैः समूह वैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने र लगातार तीन पटक भन्दा बढी सम्बन्धित ठाँउमा अनुपस्थित भएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जाने अभ्यासलाई अवलम्बन गर्नुपर्दछ ।

आन्तरिक लेखापरीक्षण समितिलाई क्रियाशील बनाई शाखा कार्यलयहरुको लेखापरीक्षण कार्यलाई नियमित रुपमा अनुगमन गर्नुपर्दछ । सञ्चालक समितिले संस्थाको कार्यकारी प्रमुख, उच्च व्यवस्थापन एवम् आन्तरिक समिति उपसमितिहरू लाई स्वतन्त्र रुपमा आफ्नो काम कर्तव्य गर्न सक्ने वातावरण बनाउनुपर्दछ । संस्थाले सूचना प्रविधि प्रणालीेको पूर्वाधार, सूचना प्रविधि सफ्टवेयरको पर्याप्तता, उपयुक्तता, सुरक्षा जोखिम तथा नियन्त्रण प्रणाली लगायतका विषयहरु समेटी प्रभावकारी रुपमा सूचना प्रविधि प्रणालीेको लेखापरीक्षण गर्नु पर्ने मागर्दशनमा उल्लेख छ ।

संस्थाले गुनासो सुनुवाई प्रणालीको बारेमा ग्राहकलाई जानकारी गराउनुपर्दछ । संस्थामा गुनासो सुनुवाई प्रणालीमा लिखित र मौखिक रुपमा गुनासो दर्ता गर्ने संयन्त्र तयार गर्नुपर्दछ ।  संस्थाले गुनासो सुन्ने अधिकृत तोक्नुका साथै शाखागत रुपमा समेत गुनासो संकलन गर्ने व्यवस्था गर्नुपर्दछ । साथै, राष्ट्रिय स्तरका संस्थाहरूले २ तहको (प्रदेश तह र केन्द्रीय तह) गुनासो अधिकृत नियुक्त गर्नुपर्दछ । फिल्ड सहायकले समेत गुनासो सङ्कलन गरी व्यवस्थापनको लागि आपूm भन्दा माथिल्लो तहमा पठाउने व्यवस्था गर्नुपर्दछ ।

संस्थाले ऋणीहरुको हितमा खर्च गर्नेगरी अलग्गै ग्राहक संरक्षण कोष खडा गर्नुपर्दछ । संस्थाले ग्राहक संरक्षण कोष सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्नुपर्दछ र उक्त कोषको रकम ऋणीहरूको व्यवसाय सञ्चालन सीप जस्तै लेखा राख्ने, वित्तीय विश्लेषण गर्ने तालिममा हुने खर्च, उद्यमशीलता विकास सम्बन्धी कार्यक्रममा हुने खर्च, समस्यामा परेका ऋणीहरूको पुनस्र्थापनाका लागि सहुलियत ब्याजदरको कर्जामा परिचालन गर्न सक्नेछन । त्यसेगरी ग्राहक तथा ऋणी सदस्यलाई मानवीय सहायता खर्च, प्राकृतिक प्रकोप, सरुवा रोगबाट सृजित महामारीको अवस्थामा दिइने सहयोग,सदस्यहरूका बालबालिकाको भविष्यको लागि छात्रवृत्ति एवम् पाठ्यसामाग्री प्रदान गर्दा खर्च गर्न सक्ने व्यवस्था मार्गदर्शनले गरेको छ । 

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार  १७ : २९ बजे