काठमाडौं । इँटाभट्टाबाट ‘कालो’ धुवाँंको मुश्लो फालेको देखेका हामीलाई सेतो धुँंवा मात्रै फाल्ने पनि इँटाभट्टा हुन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर पोखरा इको रेड व्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इटाभट्टाबाट भने कालो होइन, सेतो धुँंवा मात्रै फालेको हुन्छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन भएका कारण यसले अन्य सामान्य इटाभटाले जस्तो कालो धुवा नफाल्ने जनाइएको छ ।
नेपाल इँटा उद्योग व्यवासायी महासंघको तथ्यांक अनुसार देशभर एक हजार दुई सयको हाराहारीमा इटाभटाहरु छन् । तर ती सवै इँटाभट्टाहरु भन्दा पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इटाभटा आधुनिक हो ।
पोखरा इको रेड व्रिक्स प्रालिका टेक्निकल इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो इटाभटाबाट कहिले पनि कालो धुँंवा निकाल्दैन । धुवाँ चाहिँं सेतो निकाल्छ, तर इटा भने रातो, उनले भने । उनका अनुसार यस्ता आधुनिक इँटाभट्टामा एक हजारदेखि एक हजार एक सय डिग्री सेल्सियसमा होम म्यान क्लिनभित्र पोलेर इटा पकाइन्छ । यही कारण यसका इटाहरु रातो हुने गर्दछन् । तर धुवाँं भने सेतो मात्रै अर्थात् प्रदूषणविहीन धुँंवा मात्रै फाल्छ । रातो इटालाई गुणस्तरीय इटा मानिन्छ ।
बताइए अनुसार यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्दछ । मेसिनले इटा पार्नेदेखि इटा निकाल्नेसम्मको सबै काम गर्छ । अन्य इटाभटाहरुमा इटा पार्ने काम मानिसबाट हुने गर्दछ ।
यो प्रविधिबाट इटा उत्पादन गर्दा १२ अैं महिना कारखाना सञ्चालन गर्न मिल्ने हुन्छ । इटा घाममा राखेर नभई आफैं सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इटा बनाउन सकिने भएको हो ।
अन्य सामान्य इँटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछ । प्रत्येक वर्ष मंसिरमा सुरु भई वैशाख महिनामा उद्योग बन्द हुने गर्दछ । जेठ असारदेखि पानी पर्न थाल्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन् ।
पोखरा इको रेड ब्रिक्स प्रालिले भक्तपुरको जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग प्रालिले जस्तै १२ महिना सञ्चालन गर्न सकिने उद्योग हो । नेपालमा पहिलादेखि चल्दै आएका दुई वटा चाइनिज इटा उद्योग थिए, भक्तपुर जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग । तीमध्ये अहिले ललितपुरको हरिसिद्धिस्थित इटा तथा टायल उद्योग बन्द भइसकेको छ । यता भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इटा उत्पादन हुँंदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर यस्तो इटाभटा सञ्चालन हुन नसकेको बताइएको छ ।
वंगलादेशी विज्ञलाई झिकाइ लामो समयदेखि काम गराई यस्तो आधुनिक उद्योग सञ्चालन गर्न सफल भएको कम्पनीले जनाएको छ । अटोमेटिक मेसिन मेड क्लिन व्रिक्स (इँटा) विज्ञलाई काम गराई यस्तो प्रविधि भित्राउन सफल भएको कम्पनीको भनाई हो ।
इँटाभट्टाका कारण वातावरण प्रदूषण बढेको चर्काे आलोचना सवैतिरबाट निरन्तर भइरहेको छ । यही आलोचनालाई थेग्न इटा उद्योगीहरुले यो वर्ष ढिला गरी मात्रै अर्थात् माघ १ गतेदेखि मात्रै इटाभटामा फायरिंग (इटाभटामा इटा पोल्न आगो लगाउने काम) गर्ने भएको नेपाल इटाभटा व्यवसायी महासंघका सदस्य एवं भक्तपुर इटाभटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले जनाए ।
पुस माघ महिनामा काठमाडौं उपत्यमा हुस्सु आउने र तराईमा शितलहर चल्ने कारण यो वेला इटाभटाबाट निस्कने धुँंवाले वढी प्रदूषण हुने भन्दै उद्योगीहरुले यो वर्ष पहिलाका वर्षहरुमा भन्दा एकदुई महिना पछाडि मात्रै अर्थात् हुुस्सु र शितलहर कम हुने समय माघदेखि मात्रै फायरिंग गर्ने निर्णय गरेको ह्योम्वाले जनाए । तथापि नेपाल सरकारले भने फागुन महिनामा मात्रै फायरिग गर्न अनुरोध गरेको थियो ।
प्रतिक्रिया