काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष नियुक्तिको दरखास्त आह्वान गरेको छ । अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै अध्यक्ष नियुक्तिको लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन आह्वान गरेको हो ।
बिमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिनका लागि बिमा, मौद्रिक, बैकिंङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ ।
उच्च नैतिक चरित्र भएको, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । आवेदनसाथ व्यावसायिक कार्ययोजना ४ प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ ।
योग्य तथा इच्छुक नागरिकले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेका छन् ।
प्रतिक्रिया