लुम्बिनी प्रदेशका उद्योगहरूको अधिकतम क्षमता उपयोग ९२ प्रतिशत भन्दा धेरै रहेको छ । गत आर्थिक वर्षमा लसम्निी प्रदेशका रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९२.४३ प्रतिशतसम्म उत्पादन क्षमता प्रयोग पाइएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ४६.४१ प्रतिशत छ । अघिल्लो आवमा यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो । यस प्रदेशका उद्योगहरु मध्ये कच्चा पदार्थको सहजताका साथै बजार माग वृद्धि भएका कारण रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९२.४३ प्रतिशत उत्पादन क्षमता प्रयोग गरेको केन्द्रीय बैंकले जनाएको हो ।
तर, साबुन उद्योगको कच्चा पदार्थको गुणस्तरमा आएको कमीका कारण सबैभन्दा कम २.४१ प्रतिशत मात्र क्षमता उपयोग गरेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा औद्योगिक उत्पादनतर्फ सबैभन्दा बढी बिजुलीको तारको उत्पादन ५५.४३ प्रतिशतले वृद्धि भएको छ ।
गत आवमा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ४.४४ प्रतिशतले वृद्धि भएको छ । जसमध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा वृद्धि भएको छ भने अन्य क्षेत्रमा प्रवाहित कर्जामा ह्रास आएको केन्द्रीय बैंकले जनाएको छ ।
गत आवमा सबैभन्दा बढी साबुनको उत्पादन ८५.६४ प्रतिशतले कमी आएको छ । साबुन उत्पादन गर्ने उद्योगले गुणस्तरीय कच्चा पदार्थ प्राप्त गर्न नसक्दा उत्पादनमा कमी आएको हो ।
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तमा २०८० असार मसान्तको तुलनामा ४.४४ प्रतिशतले बृद्धि भई १ खर्ब ३१ अर्ब ८८ करोड ६४ लाख पुगेको छ । २०८० असार मसान्तमा पनि यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भएको थियो ।
२०८१ असार मसान्तमा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जामा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जामा ह्रास आएको छ । २०८१ असार मसान्तमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा २३.५१ प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगहरूमा ४२.७२ प्रतिशत रहेको छ भने सबैभन्दा कम विद्युत/ग्यास/पानी सम्बन्धी उद्योगमा ०.८१ प्रतिशत रहेको छ ।
गत आवमा पर्यटक आगमन सङ्ख्यामा ५.३९ प्रतिशतले ह्रास आएता पनि आन्तरिक पर्यटकीय गतिविधि बढेका कारण पर्यटकस्तरीय होटलको शैया सङ्ख्या तथा अकुपेन्सी दरमा क्रमशः ८.०७ प्रतिशत र १३.७८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा २२.७२ प्रतिशतले ह्रास भएको छ । त्यस्तै, घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व रकम पनि गत वर्षको तुलनामा ३०.७९ प्रतिशतले ह्रास भएको छ ।
२०८१ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले गरेको निक्षेप परिचालन २०८० असार मसान्तको तुलनामा १२.८० प्रतिशतले वृद्धि भएको छ भने कुल कर्जा प्रवाह १.३७ प्रतिशतले वृद्धि भएको छ । बचत तथा ऋण सहकारी संस्थाहरूको कुल पुँजी, बचत परिचालन र ऋण प्रवाह क्रमशः १२.०३ प्रतिशत, १२.५१ प्रतिशत र ५.६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८१ असार मसान्तसम्ममा नारायणघाट—बुटवल सडक (पश्चिम खण्ड) योजनाको भौतिक प्रगति ५२.६५ प्रतिशत र वित्तीय प्रगति ४४.३८ प्रतिशत भएको छ । गत असार मसान्तसम्ममा सिद्धबाबा सुरुङ मार्ग आयोजनाको भौतिक प्रगति १५.० प्रतिशत र वित्तीय प्रगति २३.८ प्रतिशत भएको छ । सिक्टा सिँचाई आयोजनाको भौतिक प्रगति ४१.५८ प्रतिशत र वित्तीय प्रगति ४०.६२ प्रतिशत भएको छ । बबई सिँचाई आयोजनाको भौतिक प्रगति ७२.२२ प्रतिशत र वित्तीय प्रगति ७०.८७ प्रतिशत भएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशबाट सङ्कलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १२.८० प्रतिशतले वृद्धि भई ५ खर्ब ७१ अर्ब ८५ करोड ५३ लाख पुगेको छ । जिल्लाहरूको कुल निक्षेपको अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लामा ४३.१९ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुम पूर्व जिल्लामा ०.३१ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा १.३७ प्रतिशतले वृद्धि भई ५ खर्ब ६० अर्ब ९० करोड १० लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको यस प्रदेशको कर्जा÷निक्षेप अनुपात ९८.०८ प्रतिशत रहेको छ । कुल कर्जाको जिल्लागत अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लाको ५०.०८ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुमपूर्व जिल्लाको ०.२० प्रतिशत रहेको छ । त्यसैगरी, कर्जा÷निक्षेप अनुपात सबैभन्दा धेरै बाँके जिल्लामा १४७.०६ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्घाखाँची जिल्लामा १६.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया