मंसिर महिनामा मात्रै एक खर्ब १८ अर्बको रेमिट्यान्स


चालु आर्थिक वर्षको पाच अर्थात मंसिर महिनामा मात्रै एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह कात्तिक महिनाको तुलनामा ४ अर्बले धेरै हो ।

चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक महिनामा एक खर्ब १४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । 

चालु आवको मंसिरसम्मको विप्रेषण आप्रवाह भने ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।
चालु आवको ५ महिनामा खुद द्वितीय आय ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो । 

चालु आवको सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४ सय २५ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ७१ हजार ९ सय ७५ र एक लाख २ हजार ५ सय ४२ रहेको थियो ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार  १७ : १४ बजे