निर्यात र रेमिट्यान्स आएका सुधारले शोधनान्तर स्थिति सवा २ खर्ब बचतमा 


चालु आर्थिक वर्षको मङ्सिरसम्ममा निर्यात तथा रेमिट्यान्समा आएको सुधारले शोधनान्तर स्थिति उल्लेख सकारात्मक भएको छ । सो अवधिमा निर्यात १६ प्रतिशत, रेमिट्यान्स साढे ४ प्रतिशतले बढेपछि शोधनान्तर स्थिति २ खर्ब २५ अर्बले बचतमा पुग्न सहयोग पुगेको हो । 

चालु आर्थिक वर्षको मङ्सिरसम्ममा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई ७३ अर्ब ६६ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी सो अवधिमा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई ६६१ अर्ब ४९ करोड पुगेको छ । निर्यात बढेसँगै आयतमा देखिएको सुस्तताले पनि शोधनान्तर बचत बढ्नमा सहयोग पुगेको छ । 

चालु आवको मङ्सिरसम्ममा चालु खाता १४० अर्ब ७१ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता १४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको चालु खाता चालु आवको सोही अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ ।

चालु आवको ५ महिना अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ८७ करोड रहेको थियो । यसैगरी, चालु आवको मङ्सिरसम्ममा ६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ९३ करोड रहेको थियो । 

चालु आवको मङ्सिरसम्ममा शोधनान्तर स्थिति २२५ अर्ब ३४ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २१६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको सोही अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार  १७ : ३० बजे