सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभाले पारित गर्यो लाभांशको प्रस्ताव


काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले ३.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पुस २९ गते सोमबार,अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारण सभाले ३.६५१६ प्रतिशत बोनस शेयर र ०.१९२२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।

बैंकको चुक्ता पूँजी तीन अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०२ रुपैयाँ ५५ पैसाको ३.६५१६ प्रतिशत अथवा १२ करोड ५२ लाख ८४ हजार ४१७ रुपैयाँ बराबरको बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम ६५ लाख ९३ हजार ९१७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसा पुगेको छ ।  साधारण सभाले आव ०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको हाल मुलुकभर ११२ शाखा कार्यालय,३० वटा एटीएमहरू संचालनमा रहेका छन् । यसका साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: १ माघ २०८१, मंगलबार  ११ : ०५ बजे