काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेर ८ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा सिमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशतले बढेर १ अर्ब ६० करोड ४ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख रुपैयाँमा सिमित भएको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ। इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको सञ्चालन मुनाफा ४७.८८ प्रतिशतले बढेर ४ अर्ब २० करोड ४२ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंककोे प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ।
पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया