आयात निर्यातमा देखिएको सुधारले विस्तार हुँदै आर्थिक गतिविधि, भन्सार राजस्व १० प्रतिशतले बढ्यो


 चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आयात र निर्यातमा देखिएको सुधारले आर्थिक गतिविधि बढ्न थालेको संकेत गरेको छ । आयात ७ र निर्यात ३१ प्रतिशतसम्मले बढ्दा सुस्त रहेको अर्थतन्त्रले गति लिने देखिएको हो । 

चालु आवको पुससम्ममा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात भएको छ भन्सार विभागले जनाएको छ । विभागका अनुसार यो आयात गत आवको सोही अवधिको तुलनामा ७.०६ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो ।

विभागका अनुसार चालु आवको ६ महिनामा निर्यात ९८ अर्ब रुपैयाँ बराबरको भएको छ । यो निर्यात गत आवको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशतले धेरै हो । गत आवको पुससम्ममा ७४ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

चालु आवको पुससम्ममा वैदेशिक व्यापारको अवस्था ७ खर्ब २३ अर्बले ऋणात्मक रहेको छ । गत आवाको सोही अवधिमा वैदेशिक व्यापारको अवस्था ६ खर्ब ९३ अर्ब रुपैयाँको थियो । चालु आवको सो  अवधिमा आयात बढेसँगै ब्यापार घाटा पनि बढेको हा । सो अवधिमा आयात निर्यात अनुपात १८.७६ प्रतिशतले घटेर ८.३२ प्रतिशतमा झरेको छ । गत आवको सो अवधिमा यस्तो अनुपात १०.२५ प्रतिशत थियो । 

यो अवधिमा सबैभन्दा धेरै ४५ अर्ब ३६ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । सो अवधिमा कुल ६ लाख १० हजार ९ सय ४३ किलोलिटर डिजेल आयात भएको विभागले जनाएको छ । त्यसैगरी ३२ अर्ब १९ करोड रुपैयाँ बराबरको ३ लाख ७२ हजार ४ सय ९ किलोलिटर पेट्रोल, २९ अर्ब ७९ करोड रुपैयाँ बराबरको २६ करोड ५४ लाख ५७ हजार ६ सय ७८ केजी एलपीजी ग्यास आयत भएको विभागले जनाएको छ ।

आयात बढेसँगै सरकारलाई आउने राजस्व पनि बढेको छ । सो अवधिमा २ खर्ब २४ अर्ब २४ करोड रुपैयाँ बराबरको राजस्व सरकारले प्राप्त गरेको विभागले जनाएको छ । गत आवको सोही अवधिमा २ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार  १९ : १६ बजे