काठमाडौं । व्यवसायीहरुले आयातित वस्तु बिक्री गर्न भ्याट बिल काट्दा हार्मोनाइज्ड कोड (एचएस कोड) अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ । एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो ।
वस्तु आयात निर्यात गर्दा त्यो कुन वस्तु हो भनेर जनाउन त्यसलाई अंकसहितको संकेतमा उल्लेख गरिएको हुन्छ, त्यो नै हार्मोनाइज्ड (एचएस) कोड हो । मूल्य अभिवृद्धि करमा दर्ता भएका जुन सुकै विक्रेताले आयातित वस्तुको बिक्री गरी बिल काट्दा अनिवार्य रूपमा एचएस कोड उल्लेख गर्नुपर्ने हुन्छ ।
सरकारले मूल्य अभिवृद्धि कर नियमावली २०५३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । खासगरी राजस्व छली कम गर्न, तस्करी नियन्त्रण गर्न तथा आयातित वस्तुको ट्र्याकिङ गर्न मूल्य अभिवृद्धि करको बिजकमा पनि एचएस कोड उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था लागु गरिएको हो ।
यसको प्रयोगले व्यापारलाई सरल बनाउँछ र सीमा शुल्क प्रक्रिया, भन्सार, र व्यापारिक सम्झौताहरूमा पारदर्शिता बनाउँछ । आयातित सामानको बीजक जारी गर्दा एच। एस। कोडको सुरुको चार अङ्क अनिवार्य रूपमा उल्लेख गर्नुपर्दछ । करदाताले चाहेमा एच। एस। कोडको पुरै अङ्क उल्लेख गर्न सक्नेछन् । बिक्रेताले मौज्दातमा रहेको आयातित सामान विक्री गर्दा समेत एच. एस. कोड उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने जुनसुकै सामान आयात गरेर बिक्री वितरण गर्ने भएमा एच. एस. कोड उल्लेख गर्नुपर्छ । उक्त व्यवस्था चालु आर्थिक वर्षको सुरुवातदेखि नै कार्यान्वन्यनमा आएको हो ।
प्रतिक्रिया